
काठमाडौं,१७भदौ। रुपन्देहीसँगै मनाङमा पनि उपनिर्वाचन हुने भएको छ । रुपन्देही-३ मा प्रतिनिधिसभा सदस्य दीपक बोहाराको निधन भएपछि र मनाङ-१ (२) मा प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे) ज्यान मुद्दामा दोषी ठहर भएपश्चात रिक्त पदमा निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरेको हो ।
जसका अनुसार दुवै स्थानमा कार्तिक १७ गते उपनिर्वाचनको मिती तय गरिएको छ । रुपन्देही-३ मा प्रतिनिधिसभा सदस्य पदका लागि र मनाङ-१ (२) मा प्रदेश सभा सदस्य पदका लागि उपनिर्वाचन हुनेछ । जसका लागि आयोगले रुपन्देही-३ का लागि केही समय अघि नै प्रक्रिया अगाडी बढाइसकेको छ भने मंगलबार मनाङ-१ (२) मा उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
Advertisement

Advertisement
Advertisement

आयोगका अनुसार कात्तिक १७ गते हुने प्रदेश सभा सदस्यको उपनिर्वाचनमा भाग लिनका लागि आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निवेदन दिनुपर्नेछ। नेपाल संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता प्रक्रियामा सहभागी हुन सकिने आयोगले जनाएको छ।
यसअन्तर्गत राजनीतिक दलहरुले भदौ १९ गतेदेखि २५ गतेसम्म कार्यालय समयभित्र निवेदन दिनुपर्ने मंगलबार जारी सूचनामा उल्लेख छ। निवेदन राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा तयार गर्नुपर्ने सूचनामा उल्लेख छ।

