


काठमाडौं,१८ भदौ। भुटानी शरणार्थी प्रकरणको सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाइ सुरु भएको छ । दुई वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दा बुधवारदेखि अन्तिम सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा सुनुवाइ सुरु भएको हो।
पछिल्लो समय मुद्दामा साक्षी बुझ्ने र बकपत्र गराउने कार्य सकिएपछि मुद्दाको सुनुवाइका लागि साप्ताहिक पेशी सूचीमा राखिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुविरुद्ध तीन चरणमा ठगी, किर्ते, सङ्गठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३३ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
उक्त मुद्दामा जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।
पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे। केही जिल्ला र उच्चकै आदेश सदर भएर पूर्पक्षका लागि थुनामा छन् ।केही अझै फरार छन्।

