
काठमाडौं,१९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै रकम असुली गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–९ का २७ वर्षीय लक्ष्मण पनेरु र झापाको हरिनगर गाउँपालिका–७ का ५४ वर्षीय विनोद साह रहेका छन् ।



प्रहरीका अनुसार पक्राउ परेकाहरुले काठमाडौं टोखा नगरपालिका–८ का एक व्यक्तिलाई ‘तपाईंसहित तपाईँको परिवारको नागरिकता नक्कली हो, अख्तियारले अनुसन्धान गरिरहेको छ’ भन्दै टेलिफोनमार्फत डर देखाएर रकम माग गरेका थिए । एक करोड रुपैयाँ दिए फाइल बन्द हुने नभए पक्राउ गरेर जेल पठाइने धम्कीपछि पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए ।
पक्राउ परेकासँग दुई लाख रुपैयाँ, ४ थान मोबाइल र एउटा कार बरामद गरी घटनाका सम्बन्धमा आवश्यक अनुसन्धानका लागि लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।