
भैरहवा, २७ भदौ । रुपन्देही जिल्लाको भैरहवामा शान्ति–सद्भाव र्याली निकालिएको छ। भ्रष्टाचार र बेथितीविरुद्ध गरिएको प्रदर्शनमा मंगलबार सार्वजनिक र निजी सम्पतिहरुमा तोडफोड, लुटपाट, आगाजनी गरिएपछि भैरहवासहित मुलुकमा शान्ति–सद्भाव कायम राख्न कामना गर्दै र्याली निकालिएको हो।
लुम्बिनी प्रेस क्लब, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्स, रुपन्देही, सिद्धार्थ सञ्जाल, रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि., नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, सिद्धार्थ होटल संघ, नेपाल, भैरहवा मर्निङवाक गु्रप, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही र पश्चिमाञ्चल यायायात प्रा.लि.को संयुक्त आयोजनामा नेपाल–भारत सीमा नाका बेलहियाबाट निकालिएको र्याली विभिन्न स्थान हुँदै बुद्धचोकमा समापन गरिएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले शान्तिको कामना गर्दै शान्ति–सदभाव र्याली निकालिएको भन्दै भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनका क्रममा केही व्यक्तिहरुले घुसपैठ गरेर सरकारी र निजी सम्पत्तिमाथि आक्रमण गरेको बताए ।
‘भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनका क्रममा केही व्यक्तिहरुले घुसपैठ गरेर सरकारी र निजी सम्पत्तिमाथि आक्रमण गरे’, उनले भने, ‘फेरि त्यस्ता तत्वहरुले समाजलाई विध्वंशतर्फ लैजान सक्छन् । यसैले सबै एकठाउँ हुनुपर्छ भन्ने सन्देश दिन र्याली आयोजना गरिएको हो ।’
स्थानीय युवा सागर ज्ञवालीले भ्रष्टाचारविरुद्ध जेनजी समूहले गरेको आन्दोलनमा केही अराजक तत्वको घुसपैठका कारण क्षति पुगेको बताए । उनले अब देश नयाँ बाटोमा गएको भन्दै नयाँ नेपाल बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले युवाहरुका जायज माग सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले संयमित भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले आ–आफ्ना पेशा र व्यवसायलाई मर्यादित तथा सुरक्षित ढंगबाट अगाडि बढाउन आग्रह गर्दै शान्ति–सुव्यवस्था कायम गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए।
‘पछिल्लो समय घटेका घटनाबाट मर्माहत भएका छौं, लुटपाट, आगजनी, तोडफोड लगायतका घटनामा संलग्न व्यक्तिहरुको फुटेज, भिडियो लिएका छौं ।अब क्रमशः उनीहरुलाई पक्राउ गरेर कानूनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउँछौं,’उनले भने।
रुपन्देहीमा सरकारी कार्यालय, होटल, निजी सम्पति, व्यवसायीक प्रतिष्ठानमा तोडफोड, आगजनी तथा लुटपाट हुँदा ठूलो क्षति पुगेको छ। क्षतिको विवरण संकलन भइरहेको प्रशासनले जनाएको छ ।

