


काठमाडौं,२८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन्।
सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिरिएका थिए । प्रदर्शनको फाइदा उठाउँदै बाहिरिएको भन्दै लामिछानेको आलोचना भएको थियो ।

जसपश्चात उनले आफु प्रक्रिया पुरा गरेर मात्र कारागारबाट निस्किएको दावी गर्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा दस्तखत भएको रिहाइ पत्र सार्वजनिक गरेका थिए ।
तर, नख्खु कारागार प्रशासनले लामिछानेले सार्वजनिक गरेको उक्त पत्र फर्जी भन्दै उनीसहित भागेका सबै कैदीबन्दीलाई तत्काल फर्किन भनेको थियो ।
शनिवार सामाजिक संजाल फेसबुकमा शनिबार भिडियो सन्देश जारी गर्दै लामिछानेले आफू आफ्नो जन्मदिनको सन्दर्भ पारेर कारागार फर्किन लागेको बताएका थिए।
‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साँधेर मेरो जिना हराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ उनले भनेका छन्।

