


भैरहवा, ३० भदौ । काठमाडौंमा जेनजी प्रदर्शनको क्रममा समाचार संकलनका लागि पुगेका भारतीय पत्रकारहरुमाथी भएको कुटपिट तथा दुर्व्यवहार गर्नेहरुलाई कारवाही गर्न भारतीय पत्रकारहरुले माग गरेका छन् ।
भारत उत्तरप्रदेशको सीमवर्ती महारजगंज जिल्लाको प्रेस क्लब अफ महारजगंजले रुपन्देहीस्थित लुम्बिनी प्रेस क्लब मार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र दिदैं कुटपिट तथा दुर्व्यवहार गर्नेहरुको पहिचान गरी कारवाहीको माग गरेका हुन् ।

प्रेस क्लब अफ महारजगंजका अध्यक्ष अमित त्रिपाठीसहितका भारतीय पत्रकारहरुको टोलीले लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीसहितको नेपाली पत्रकारको टोलीलाई सुनौली–बेलहियास्थित सीमा नाकामा ज्ञापनत्रपत्र बुझाएका थिए ।
‘भारतबाट सामचार संकलनका लागि नेपाल गएका पत्रकारहरुमाथी केही सिमित व्यक्तिहरुद्वारा अभद्र व्यवहार गरिएको छ । कुनै पनि देशको मीडिया (पत्रकार) माथी अभद्र व्यवहार गर्नु दुर्भाग्यपूर्ण भएको र घटनाले भारतीय पत्रकारहरुमा आक्रोश छ’,ज्ञापनमा पत्रमा भनिएको छ–‘दुवै देशको सम्बन्ध अझै प्रगाढ बनाउन र फेरी घटना दोहोरिन नदिनका लागि पत्रकारहरुमाथी अभद्रता गर्नेहरुलाई पहिचान गरेर कारवाही हुनेमा आशावादी छौं ।’
ज्ञापनपत्र बुझाउँदै प्रेस क्लव अफ महाराजगंज भारतका अध्यक्ष अमित त्रिपाठीले समाचार संकलनको क्रममा कुनै पनि मुलुकमा पत्रकारहरुमाथि अभद्र र दुर्व्यवहार निकै दुर्भाग्यपूर्णको विषय भएको बताए ।
‘नेपाल, भारत वा जुनसुकै देशमा पत्रकारहरुमाथि हुने अभद्र व्यवहारका बिरुद्ध नेपाल–भारत दुवै देशका पत्रकार आपसमा एकजुट हुन जरुरी छ’, अध्यक्ष त्रिपाठीले भने, ‘कुनै पनि नेपाली पत्रकारलाई भारतमा रहेर समाचार संकलन गर्नु परेमा क्लवलाई अग्रिम जानकारी दिएमा ति पत्रकारको सुरक्षा व्यवस्था मिलाउन हामी तयार छौं ।’
आन्दोलनका नाममा भएका विभिन्न हिंसात्मक घटनाबाट उत्पन्न असहज बातावरणको अन्त्य, शान्ति, आपसी सद्भावका लागि लुम्बिनी प्रेस क्लवको अगुवाइमा सीमा नाका बेलहियादेखि भैरहवासम्म निकालिएको सद्भाव ¥याली अति प्रशंसनीय रहेको उनले बताए ।
प्रेस क्लव अफ महाराजगंज भारतले बुझाएको ज्ञापनपत्र बुझ्दै लुम्बिनी प्रेस क्लव रुपन्देहीका अध्यक्ष कमल रायमाझीले समाचार संकलनका क्रममा भारतीय पत्रकारहरुमाथि नेपालमा भएको उक्त अभद्र तथा दुर्व्यवहार गलत र निन्दनीय रहेको बताए । ‘कुनै पनि पत्रकारहरुमाथी यस्तो घटना हुनु दुःखद र निन्दनीय हुन्’, उनले भने, ‘यस खालको घटनाको हामी पनि भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गछौं ।’
कुनै पनि मुलुकका पत्रकार अर्को देशमा पुगेर समाचार संकलन गर्नुपरेको अवस्थामा सुरक्षाको बस्तुस्थिति बुझेर र एकअर्का देशका पत्रकारहरुसँग समन्वय गरेको अवस्थामा सहजता उनले सुझाव दिए । उनले प्राप्त ज्ञापन पत्र आफुहरुले प्रधानमन्त्री समक्ष पुर्याउने प्रतिवद्धता जनाए ।

