
भैरहवा, २ असोज । जेनजी प्रदर्शनको क्रममा रुपन्देही जिल्लामा २३ वटा सरकारी कार्यालयको भवन र सवारी साधनमा क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार २३ वटा मध्य तीन वटा भवन पूर्ण क्षति र १९ वटा आंशिक क्षति पुगेको छ । यस्तै सरकारी कार्यालयका क्षति पुगेको कुल ३८ वटा दुई पांग्रे सवारी साधनमध्ये ३५ वटा पूर्ण रुपमा क्षति भएको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै २२ वटा चार पांग्रे सवारी साधन क्षति भएको छ । जसमध्ये २० वटा पूर्ण रुपमा र दुई वटा आंशिक क्षति भएको कार्यालयले जनाएको छ ।
कार्यालयको तथ्यांक अनुसार तिलोत्तमा उद्योग वाणिज्य संघको भवन र सेन्ट्रल मीडिया प्रालिको दुई वटा चार पांग्रे सवारी साधन पनि पूर्ण क्षति भएको छ ।
जेनजी प्रदर्शनको क्रममा पर्यटन डिभिजन कार्यालय, भैरहवा भन्सार कार्यालय, हेभी ईक्विपमेन्ट डिभिजन बुटवल, इलाका प्रशासन कार्यालय बुटवल, आन्तिरक राजस्व कार्यालय बुटवल, जिल्ला सरकारी वकिल कार्यालय, सिद्धार्थनगर नगरपालिका, कंचन गाउँपालिका, अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, आन्तरिक राजस्व कार्यालय भैरहवा, श्रम तथा रोजगार कार्यालय क्षति पुगेको छ ।
यस्तै यातायात व्यवस्था कार्यालय (सवारी), यातयात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र), मालपोत कार्यालय बुटवल, प्रदेश लोक सेवा आयोग, देवदह नगरपालिका, प्रदेश लोक सेवा आयोग लुम्बनी प्रदेश, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यालय कार्यालय कार्यान्वयन एकाई र प्रदेश लेखा इकाई कार्यालय बुटवलमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
क्षतिको अनुमानित लागत विवरण अनुसार ५ करोड १० लाख २८ हजार बढी मूल्य बराबर सरकारी सम्पत्तिमा क्षति भएको कार्यालयले जनाएको छ । जसमध्ये केही सरकारी कार्यालयको सम्पत्तिको क्षति लागत अझै एकिन हुन बाँकी छ ।
यसबाहेक अन्य सार्वजनिक सम्पत्ति, व्यवसायिक प्रतिष्ठान, निजी सम्पत्तिहरुमा पनि तोडफोड, आगजनी र लुटपाट गरेर क्षति पुर्याइएको छ । जसको विवरण संकलन गर्ने कार्य भइरहेको प्रशासनले जनाएको छ ।

