


भैरहवा, ५ असोज। पत्रकार मनोरञ्जन शर्माको अन्त्येष्टि गरिएको छ। भैरहवामा उपचारको क्रममा शनिवार बेलुका उनको निधन भएको थियो। शर्माको स्याङ्जा र पाल्पाको सङ्गमस्थलमा रहेको राम्दी घाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।
विगत दुई वर्षदेखि क्यान्सर रोगबाट जुधिरहेका शर्मा भैरहवा क्षेत्रलाई आधार बनाएर विगत दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका थिए। ०५४ सालदेखि पाल्पाबाट पत्रकारिकता गरेका उनी कारोबार दैनिक, न्यूज ओके लगायत सञ्चारमाध्यममा आबद्ध थिए ।

उनको श्रीमती, एक छोरी र एक छोरा छन्। लुम्बिनी प्रेस क्लब, रुपन्देहीका संस्थापक उपाध्यक्ष एवं सल्लाहकार समेत रहेका पत्रकार शर्माको निधनले सञ्चार क्षेत्रमा अपूरणीय क्षति पुगेको क्लबका अध्यक्ष कमल रायमाझीले बताए।
क्लबले शर्माको पार्थिव शरीरमा संस्थाको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको छ। निधनप्रति लुम्बिनी प्रेस क्लबसहित विभिन्न संघ-संस्थाले दुःख व्यक्त गरेका छन्।

