
भैरहवा, ७ असोज। भैरहवामा डाण्डिया नाईट तथा भव्य भगवती रात्री जागरण हुने भएको छ। श्री श्री सार्वजनिक दुर्गा पुजा समिति मैत्रीपथ–५, अखाडा नम्बर २ को आयोजनामा अगामी असोज १४ गते डाण्डिया नाईट र १५ गते रात्री जागरण हुने भएको हो ।
समितिका अध्यक्ष रवि जयसवालले मंगलबार आयोजित पत्रकार सम्मेलनमा असोज १४ गते साँझ ६ बजेदेखि डाण्डिया नाईट र असोज १५ गते साँझ ७ बजेदेखि रात्री जागरण सुरु हुने जानकारी दिए। भैरहवाको मैत्रीपथस्थित शिव मन्दिर अगाडि कार्यक्रम आयोजना हुने बताइएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

कार्यक्रम संयोजक दीपेश गुप्ताले अघिल्लो वर्ष डाण्डिया नाईट कार्यक्रम गरिएको र यस वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिइएको बताए। उनले कार्यक्रम सञ्चालन गर्न सुरक्षा निकायसँग समन्वय गरिएको र कार्यक्रममा स्वयंसेवकहरु पनि परिचालन गरिने बताए ।
समितिका सचिव विशाल श्रीवास्तवले महानवमीका दिन हुने रात्री जागरणमा भण्डारा (प्रसाद वितरण) को पनि कार्यक्रम रहेको बताए। उनका अनुसार रात्री जागरणमा भारतका प्रसिद्ध गायक प्रमोद चंचल, दिल्लीबाट झाँकी समूहका साथै स्थानीय कालाकारहरुलाई पनि मञ्च प्रदान गरिनेछ ।
समितिका सल्लाहकार सतिश कुमार कौसल (दीपक) ले यस्ता कार्यक्रमले बजार समेत चलायमान हुने विश्वास व्यक्त गरे। डाण्डिया कार्यक्रममा सभ्य पहिरन सहित आउनेलाई मात्र सहभागी गराउने समितिले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका–५ की कार्यबाहक वडाअध्यक्ष किरन देवी सुनारले विगतदेखि नै हुँदै यो कार्यक्रमलाई वडा कार्यालयले सहयोग गर्दै आएको बताइन्। वडा सदस्य सरस्वती श्रेष्ठले धार्मिक तथा साँस्कृतिक कार्यक्रम भएकोले सबैले मिलेर यसलाई सफल बनाउनुपर्नेमा जोड दिइन्।

