
काठमाडौं,१८ असोज। सडक विभागले असोज १७ देखि २० गतेसम्म देशभर मनसुन सक्रिय रहने र भारी वर्षाका कारण सडक अवरुद्ध हुन सक्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सचेत रहन अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार देशका अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। यस क्रममा पहिरो र बाढीको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
Advertisement

Advertisement
Advertisement

सडक विभागले विशेष गरी मुग्लिङ–नारायणगढ सडक, मुग्लिङ–गोरखा सडक, बिपी राजमार्ग, अरनिको राजमार्ग, त्रिभुवन राजपथ, गल्छी–स्याङ्जा सडक अवरुद्ध हुन सक्ने भन्दै यी स्थानहरुमा रातिको समयमा (बेलुकी ८ देखि बिहान ५ बजेसम्म) यात्रा नगर्न उपयुक्त हुने विभागले जनाएको छ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले प्रभावित क्षेत्रका अवरुद्ध सडक खण्डहरुमा आवश्यक उपकरण परिचालन गरी तत्कालै मर्मत तथा पहिरो हटाउने कार्य अघि बढाइने जानकारी दिए। विभागले सडक प्रयोगकर्तालाई आवश्यक सूचना पाउन टोल–फ्री नम्बर ९८५१४१६८९३ वा नजिकको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
विभागले सडक अवरुद्ध हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्पूर्ण सडक प्रयोगकर्तालाई सतर्क रहन अनुरोध गरेको हो।

