
भैरहवा, ३० असोज । भैरहवास्थित भीम अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाहरु विगतभन्दा धेरै सुविधाजनक र सुधार हुँदै गएपनि थप प्रभावकारी रुपमा अघि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय र भीम अस्पतालद्वारा भैरहवामा आयोजित अस्पतालबाट संचालित स्वास्थ्य सेवाहरुको वार्षिक सुरक्षा गोष्ठी आव २०८१–०८२ कार्यक्रमका सहभागीले अस्पतालमा उपचारको सेवा गुणस्तर बन्दै गएपनि समयसापेक्ष अनुरुप अझ बिश्वाशिलो र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका हुज् ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले भीम अस्पतालको उपचार सेवा क्रमिक रुपमा सुधार हुदै जान थालेको भएपनि बर्तमान आवश्यकतालाई पुरा गर्ने गरि अझै उपचार सेवामा विविधीरकण गर्न जरुरी भएको बताए।
‘तीन बर्षको अवधिमा भीम अस्पताल बारेमा धेरै गुनासा सुन्नमा आएका थिए । अहिले धेरै सुधार भएकाले गुनासा कम छन्’ उनले भने, ‘यो अस्पतालमा अहिलेको पुस्ताको स्वास्थ्य आवश्यकतालाई समेट्ने गरि उपचार सेवामा विविधीकरण ल्याउन जरुरी छ।’
अस्पतालमा कार्यरत चिकित्सकलाई सेवामुखी भएर अस्पतालमा काम गर्न आग्रह गर्दै उनले विमा बापतको रकम तत्काल भुक्तानी उपलब्ध नहुने समस्याले जताततै हुन थालेको बताए। भीम अस्पतालमा अहिलेको व्यवस्थापकीय सहितको चिकित्सकको टिम दक्ष भएकाले उपचार सेवा गुणस्तरिय र प्रभावकारी बनेको भनाइ उनको थियो ।
लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले हिजो र आजको भीम अस्पतालमा धेरै फरक देखिएको भन्दै समस्याका वावजुद अस्पतालले प्रगति गरेको देखिएको बताए । अस्पतालले सीमित स्रोत साधनको उच्चतम प्रयोग र थन्किएका उपकरणहरु प्रयोगमा ल्याउनुपर्ने उनको भनाई थियो । साथै उनले अस्पताललाई कर्मचारी भर्ती केन्द्रको रुपमा नबनाउन भन्दै अस्पताल रिफर सेन्टरको रुपमा प्रयोग नहुृनदिन सुझाए ।
अस्पताल विकास समितिका पुर्व अध्यक्ष कुल प्रसाद न्यौपानेले भीम अस्पतालको उपचार सेवा बिगत दुई–तीन बर्षदेखि सुधार हुदै आएको दावी गरे। राजनीतिक दल र प्रभावशाली व्यक्तिको भनसुन र दवावमा नभइ अस्पतालमा आवश्यकताको आधारमामात्र कर्मचारी राख्नु पर्ने सुझाव दिए।
भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष विश्वेश्रवर बस्यालले आफ्नो कार्यकालमा अस्पताल विकासका लागि अनेक कार्य गरेको उल्लेख गर्दै सबैको योगदानले अस्पतालको विकास भएको बताए ।
नेपाली कांग्रेस सिद्धार्थनगरका कार्यवाहक सभापति एवं वडा नं. ६ का वडासदस्य अनिल केसीले विगत भैरहवालाई छाडेर अन्यत्र उपचार सेवाका लागि जाने विरामीहरुका लागि अहिले भीम अस्पताल रोजाईमा परेको बताए । उनले आफुले अस्पतालका लागि गर्न सक्ने सहयोगका लागि सदैव तयार रहेको बताए ।
नेकपा एमाले सिद्धार्थनगरका नगर कमिटी इन्चार्ज चक्र थापाले विगतामा गरिब दुःखीकोमात्र भनिने भीम अस्पताल हाल मध्यमबर्गिय तथा हुनेखाने बिरामीका लागी पनि उपचार गर्ने थलो बनेको भन्दै निजी अस्पतालहरुसँग प्रतिष्पर्धा गर्न सक्षम हुन थालेको बताए ।
अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर खमजङ खत्रीले अनुसार, भीम अस्पतालमा आव २०८१–०८२ मा ओपिडीतर्फ १ लाख २० हजार ३ सय ४६ जना बिरामी उपचारकालागि आएका थिए । यो संख्या आव २०८०–०८१ मा १ लाख १२ हजार ८ सय ४५ जना आएका थिए । इमर्जेन्सीमा आव २०८१–०८२ मा २१ हजार २ सय ८९ र अघिल्लो आवमा १४ हजार ९ सय १३ जना उपचारकालागि आएका थिए ।
२०८०–०८१ मा अस्पतालमा कुल ५ हजार ६ सय २६ जना बिरामीको शल्यक्रिया गरिएको थियो भने गत आवमा ५ हजार ८ सय ६० जनाको गरिएको थियो । तथ्याङक अनुसार, भीम अस्पतालमा प्रतिदिन १ हजार १ सय ४९ वटा ल्याव टेष्ट हुने गरेको छ , भने प्रतिदिन अल्ट्रासाउण्ड ३४ र मुटुको इसिजी १३ वटा हुने गरेको छ।
अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट शकुन्तला गुप्ताले सिमीत साधन श्रोत र जनशक्तिको अधिकतमा प्रयोग गरेर गुणस्तरीय उपचार प्रदान गरिदै आइएको दावी गरिन्। अस्पताल र उपचार सेवाप्रति देखाइने सबै खालको चासो र चिन्तालाई हामीले सम्मान गर्दै उपचार सेवालाई अझ सहज र प्रभावकारी बनाउनमा प्रयत्नशील छौं’ उनले भनिन्, ‘उपचार सेवाको गुणस्तरियता र प्रभावकारीताका वारेमा बिरामी र आफन्तसँग प्रतिकृया लिने गरिएको छ ।’
भीम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा.अनन्त कुमार शर्माले भीम अस्पतालको सेवाहरुलाई अझ प्रभावकारी बनाउन आफ्नो पहल निरन्तर रहने र समन्वयकारी भूमिका रहने प्रतिबद्धता व्यक्त गरे ।

