


काठमाडौं,९ कार्तिक। नेपाल विद्युत् प्राधिकरणले २५ वटा उद्योगको लाइन काटेको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल नतिरेको भन्दै प्राधिकरणले कुल २५ उद्योगको विद्युत्को लाइन काटेको हो ।
उद्योगीहरुले विद्युत उपभोग गरेको प्राधिकरणले प्रमाण दिए आफुहरुले महसुल बुझाउन तयार रहेको बताउँदै छन् । तर, प्राधिकरणले प्रमाण उपलब्ध गराउन सकेको छैन् ।

२८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्य दिनको समय दिएको अवधिमा नआएका उद्योगको लाइन काटिएको प्राधिकरणले जनाएको छ। गत मंगलबार प्राधिकरणले मुख्य ठूला छ उद्योगको लाइन काटेको थियो भने शुक्रबार राति थप १८ उद्योगको बिजुली आपूर्ति काटेको हो।
शुक्रबार विद्युत् काटिनेमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक र गोयन्का फुड्स छन्। त्यस्तै एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलबारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङको पनि लाइन काटिएको छ।
लाइन काटिएका अन्य उद्योगमा घाराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्वार्थ पेट प्लास्ट, बुटबल सिमेन्ट, सोना मिनरलस एन्ड आयल्स र निगाले सिमेन्ट हुन्। एभेरस्ट पेपर मिल्सले भने नियमित विद्युत् महसुल भुक्तानी नै नगरेकाले यसअघि नै लाइन काटिएको थियो।
प्राधिकरणले गत मंगलबार बिहान जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको थियो।

