
उदयपुर,१७ कार्तिक । प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ का २४ वर्षीय पर्शुराम तिमल्सिना र वडा नम्बर-६ का २३ वर्षीय बिकि भन्ने विवेक राई छन्।
इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका-४, पैतालिस चोकमा दुई जनालाई शंका लागेर चेकजाँच गर्दा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार शंकास्पद लागेका उनीहरुलाई नगर अस्पताल चौदण्डीगढीमा एक्स-रे गर्दा मलद्वारभित्र लागुऔषधका एम्पुलहरु लुकाएर ओसारपसार गरेको पाइएको छ ।
पक्राउ परेका तिमल्सिनाको साथबाट १५ एम्पुल र राईको साथबाट १८ एम्पुल गरी जम्मा ३३ एम्पुल प्रतिबन्धित लागुऔषध फेला परेको छ। अस्पतालका चिक्तिसकहले उनीहरुको मलद्वारबाट लागुऔषध सुरक्षित रुपमा निकालेका छन्।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

