
काठमाडौं,१७ कार्तिक। नेकपा एमालेका महासचिव शंकर पोखरेलले मङ्सिर २७ गते नेपालको इतिहासमा सबैभन्दा ठुलो जनसभा गर्ने बताएका छन् ।
सोमबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले जनता कसको पक्षमा छन् भन्ने देखाउनका लागि नेपालको इतिहासकै ठुलो जनसभा गरिने दावी गरे ।
Advertisement

Advertisement
Advertisement

‘कात्तिक २२ गते देशभरि सबै वडामा जनभेला, २५ गते पालिकामा जनर्याली, २९ मा जिल्लाहरुमा र काठमाडौँ उपत्यकामा मङ्सिर ६ गते सभा गर्दैछौँ’,उनले भने– ‘र, मङ्सिर २७ गते नेपालको इतिहासमै सर्वाधिक ठुलो जनसभा काठमाडौँमा गर्नेछौ।’
उनले उक्त सभापछि जनता कसको पक्षमा छन् भन्ने देखिने पनि बताए । ‘हामी देखाउन चाहन्छौ–जनता कसका साथमा छन् ? जनता कहिले पनि हिंसा अराजकता र लुटपाटको साथमा हुँदैनन्’, उनले भने ।
पश्चिमाको यो रणनीतिका कारण नै नेपाल असामान्य अवस्थामा प्रवेश गरेको बताउँदै उनले जेनजीले अघि सारेका माग अनुचित नभएको स्वीकार गरे ।
‘मुलुकमा भ्रष्टाचार नियन्त्रण हुनुपर्छ, सुशासन हुनुपर्छ र सामाजिक सञ्जालको निर्बाध प्रयोग गर्न पाउनुपर्छ भन्ने माग जायज हो’, उनले भने– ‘सरकारले त्यो पुरा गर्न सक्ने माग हो । तर उनीहरुले राखेका माग सरकारसमक्ष प्रस्तुत नै भएनन् ।’
उनले जेनजी आन्दोलनको नेतृत्व कसले गरेको छ भन्ने कुरा समेत पूर्ववर्ती सरकारलाई जानकारी नभएको दाबी गरे। ‘यति सामान्य कुरामा पनि सरकारले किन चासो राखेन भनेर भाष्य खडा गर्न खोजिँदैछ । तर चासो राख्न कसैले नेतृत्व र माग प्रस्तुत गरेको हुनुपर्छ त्यो नभई राज्यले संवाद गर्ने कुरा भएन ।’
उनले माग पुरा गर्ने भन्दा पनि परिस्थितिलाई आफ्नो स्वार्थअनुसार भड्काउने उद्देश्यका लागि अभियान चलाइएको थियो भन्ने कुरा पछिल्ला घटनाक्रमले पुष्टि गरेको दाबी गरे ।
उनले युवाहरूमा रहेको सूचना प्रविधिप्रतिको आशक्ति र लत तत्कालीन केपी ओली नेतृत्वको सरकारले बुझ्न नसक्दा गलत तत्त्वहरूले प्रयोग गर्ने मौका पाएको समेत बताए ।

