
काठमाडौं,१९ कार्तिक। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनमा लाग्ने घोषणा गरेका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी नेतृत्वकै कारणले कम्युनिष्ट आन्दोलन तीव्र अराजनीतिकरणका साथै दक्षिणपन्थी र अवसरवादी बन्दै गएको भन्दै अहिले ९ दलको एकताप्रक्रियामा समाहित हुन नसकिने समेत स्पष्ट पारे।
Advertisement

Advertisement
Advertisement

उनले अहिलेको अवस्थामा इमान्दार क्रान्तिकारीहरुले नयाँ पहलकदमीका लागि तयार हुनुपर्ने बताए। तथाकथित एकताको भ्रममा नपर्न आग्रह गर्दै उनले नेकपा एकीकृत समाजवादीको आआफ्नै हैसियतमा धैर्यताका साथ रहन अपिल गरे।
आगामी मंसिर पहिलो हप्ता आयोजना गरिने भन्दै उनले राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरे। त्यस भेलाबाट आगामी कार्यभार र कार्य योजना निर्माण गरिने उनले जानकारी दिए। आन्दोलनको विचार र संगठन तथा जीवनवृत्तिमा समेत व्यापक पुनर्गठन अति जरुरी रहेकाले अव आफूहरूको ध्यान त्यसतर्फ हुने उनले बताए।
उनले कम्युनिष्ट आन्दोलनको पुनर्गठन र रुपान्तरणको घोषित उद्देश्यका साथ बनेको पार्टीले आफ्नो औचित्य स्थापीत नगर्दै एकीकरणको प्रक्रिया अघि बढाउनु ठूलो घोका भएको उल्लेख गरे। एकताका नाममा उल्टो बाटो हिँडेर तमासा गर्न लागेको टिप्पणी गर्दै भुसालले त्यस्तो एकताले कम्युनिष्ट आन्दोलनलाई अझ समस्याग्रस्त बनाउँदै जाने बताए।
भुसालले पुनर्गठित पार्टीहरुको ध्रुवीकरण र एकताका आधारमा सिंगो कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न सकिने उल्लेख गरे। उनले अहिलेको अवस्थामा प्रचण्ड र माधव नेपालले नेतृत्व छाड्ने घोषणा गरे एकता प्रक्रियामा सहभागी हुन तयार रहेको जिकिर गरे।

