
काठमाडौं,२६ कार्तिक। आज विश्व निमोनिया दिवस नेपाललगायत विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यांक अनुसार निमोनियाले प्रत्येक वर्ष विश्वभर पाँच वर्षभन्दा कम उमेरका १० करोड ५५ लाख बालबालिका बिरामी बनाउँछ। त्यसमध्ये १६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ।
नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै रहेको चिकित्सकहरु बताउँछन्। यसै सन्दर्भमा निमोनियाका कारण स्वास्थ्यमा पार्ने असर र बच्ने उपायको बारेमा चर्चा गछौँ ।

कुनै पनि जीवाणुले फोक्सोमा संक्रमण गर्यो भने निमोनिया हुन्छ । भाइरस, ब्याक्टेरिया, फंगसलगायत जीवाणुले मात्रै नभएर कहिलेकाहीँ केमिकलले पनि निमोनिया हुन्छ ।
त्यस्तै, कुनै कारणले फोक्सोको ग्रन्थि, कोषिकाहरु सुन्नियो भने निमोनिया हुन्छ । ब्याक्टेरियल, भाइरल, एसप्रियसन, कम्युनिटी इक्वायर, भेन्टिलेटर एसोसिएटेट निमोनियालगायत निमोनियाका धेरै प्रकार हुन्छन् ।
निमोनियाको जोखिम रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा ज्यादा हुन्छ। बालबालिका, बढी उमेरका व्यक्ति तथा दीर्घरोगीहरुको प्रतिरोधी क्षमता कम हुन्छ। चुरोट खाने, धुवाँधुलोमा काम गर्ने व्यक्तिहरु पनि निमोनियाको जोखिममा हुन्छन् । त्यस्ता व्यक्तिको फोक्सोमा ‘सेल्फ क्लियरेन्स मेकानिजम ह्याम्पर’ हुन्छ । भित्रभित्रै फोक्सो ड्यामेज हुन सक्छ ।
असर
हाम्रो शरीरमा दाहिने र देब्रे गरी दुईवटा फोक्सो हुन्छन् । फोक्सो राम्रो अवस्थामा छ भने श्वासप्रश्वासमा समस्या हुँदैन । तर, फोक्सोमा संक्रमण भयो भने समस्या देखिन्छ । संक्रमण बढ्दै गएर निमोनिया हुन सक्छ । रगतमार्फत निमोनियाको संक्रमण शरीरका सम्पूर्ण भागमा फैलियो भने गम्भीर अवस्था निम्तिन्छ ।
हाम्रो श्वासनलीभित्र स–साना सिलिया हुन्छन् । जसले जीवाणुहरुलाई तानेर खकार र सिँगानका माध्यमबाट बाहिर फाल्छन् । गर्मीको तुलनामा जाडोमा यी सिलियाहरु कम सक्रिय हुन्छन् । चिसोले गर्दा सिलिया फ्रिज भएर बस्छन् । त्यही कारण फोक्सोको संक्रमण ज्यादा हुन्छ। जाडो समयमा पानी कम पर्छ र धुलो धेरै उड्छ। त्यही कारण प्रदूषण धेरै हुन्छ । सावधानी अपनाइएन भने धुलोको असर फोक्सोमा पर्न सक्छ ।
निमोनियाका कारण बालबालिकाहरु विशेषगरी प्रभावित हुने गरेका छन् । विश्वमा पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने प्रमुख कारणमध्ये निमोनिया पनि एक हो । त्यही कारण हामीले जाडोयाममा बच्चालाई चिसोबाट जोगाउनुपर्छ ।
बिहान–बेलुकी सकेसम्म बाहिर नपठाउने, पठाउनै परेको अवस्थामा चिसोबाट बच्ने गरी न्यानो कपडा लगाइदिने गर्नुपर्छ । बच्चालाई प्रदूषित ठाउँमा जान दिन हुँदैन। खाना खानअघि हात धोइदिनुपर्छ । झोलिलो पदार्थ पटक–पटक खुवाउनुपर्छ। खोकी लागेका बेला पानी उमालेर मनतातो बनाएर पिउन दिनुपर्छ। सास छिटो–छिटो फेर्ने, खान मन नगर्ने, लामो समयसम्म ज्वरो आउनेलगायत समस्या देखिए चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
लक्षण
खोकी लाग्ने ।
खोकीसँगै बाक्लो र पहेँलो खकार आउने ।
उच्च ज्वरो आउने।
सास फेर्न गाह्रो हुने ।
श्वासप्रश्वास छिटो–छिटो चल्ने वा सास लिन कठिनाइ हुने ।
अक्सिजनको मात्रा कम हुने ।
छाती घ्यारघ्यार हुने ।
कमजोर र थकित महसुस हुने ।
बेचैनी महसुस हुने ।
बच्ने उपाय
न्यानो भएर बस्ने, न्यानो कपडा लगाउने ।
स्टिम लिने ।
मनतातो पानीले मुख कुल्ला गर्ने ।
खानपानमा ध्यान दिने ।
चिसो चिज नखाने ।
कुनै खानाको एलर्जी छ भने त्यस्ता खानेकुरा नखाने ।
बर्सेनि रुघाखोकीको खोप लगाउने ।
निमोनियाको खोप लगाउने (यो खोप पाँच वर्षमा एकपटक लगाइन्छ ।)
धूम्रपान नगर्ने ।
थप समस्या देखिएमा चिकित्सकको सम्पर्कमा जाने र चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने ।

