


काठमाडौं, १७ साउन। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री–वितरण भइरहेका एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ।
विभागको अनुगमन टोलीले अनलाइन प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत बिक्री भइरहेका विभिन्न ब्रान्डका मसाज तेल, स्याम्पु, चिया, खाद्य पूरक आहारलगायत दैनिक उपभोग्य वस्तु नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएका उत्पादनको गुणस्तर, मौलिकता तथा उपभोगका लागि उपयुक्त भए–नभएको विषयमा परीक्षण भइरहेको विभागले जनाएको छ।
विभागका महानिर्देशक मोतिराम सापकोटाले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै नक्कली तथा शंकास्पद उत्पादनको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको बताए।
उनका अनुसार परीक्षण प्रतिवेदनका आधारमा सम्बन्धित उत्पादनविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। विभागले बजारमा शंकास्पद वा नक्कली उत्पादन देखिएमा तत्काल जानकारी गराउन उपभोक्तासँग आग्रह गरेको छ।

