

अर्घाखाँची,१३ कात्तिक। अर्घाखाँची जिल्लाका नागरिकले अब सवारी साधनको राजस्व बुझाउन तथा सवारी दर्ता किताब (ब्लूबुक) नवीकरण गर्न बुटवल धाउनुपर्ने बाध्यता हटेको छ। जिल्लामै पहिलोपटक ब्लूबुक नवीकरण सेवा सुरु भएपछि मोटरसाइकलदेखि ठूला सवारी साधनसम्मको नवीकरण अर्घाखाँचीबाटै गर्न सकिने भएको हो।
मुख्यमन्त्री चेतनारायण आचार्यले घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीमा आयोजित एक कार्यक्रमबीच उक्त सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। सो अवसरमा मुख्यमन्त्री आचार्यले नवीकरण गरिएका सवारी दर्ता किताब सेवाग्राहीलाई हस्तान्तरणसमेत गरे।
Advertisement

Advertisement
Advertisement
लामो समयदेखि जिल्लावासीले माग गर्दै आएको सेवा प्रदेश सरकारले जिल्लामै उपलब्ध गराउन सफल भएको मुख्यमन्त्री आचार्यले बताए। जिल्लाबाटै यातायातसम्बन्धी सेवा सुरु हुनु स्थानीय नागरिकका लागि खुसी र गौरवको विषय भएको उनको भनाइ थियो।
उनले यातायात क्षेत्रका सेवालाई थप विस्तार गर्दै लैजाने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै आगामी दिनमा सवारी साधनको जाँचपाससम्बन्धी सेवा पनि अर्घाखाँचीबाटै उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए।
मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन कर्मचारी तथा सम्बन्धित व्यवसायीलाई निर्देशनसमेत दिएका छन्। कार्यालयको जिम्मेवारी थपिएको अवस्थामा नागरिकले कुनै पनि प्रकारको झन्झट, सास्ती वा असुविधा भोग्न नपर्ने गरी काम गर्न उनले आग्रह गरे।
यातायात क्षेत्रको सेवा प्रवाहमा विभिन्न गुनासा आउने गरेको भन्दै उनले गुनासोरहित सेवा प्रदान गर्न कर्मचारी र व्यवसायीलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिए। नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउन सबैले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उनले जोड दिए।
जिल्लामै ब्लूबुक नवीकरण सेवा सुरु भएपछि सवारीधनीको समय र खर्च दुवै बचत हुने भएको छ। सामान्य नवीकरण तथा राजस्व बुझाउनकै लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेसँगै अर्घाखाँचीवासीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
प्रदेश सरकारले आगामी दिनमा यातायात क्षेत्रका अन्य सेवासमेत जिल्लास्तरबाटै उपलब्ध गराउने गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।





