

काठमाडौं, १३ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा आफ्नो दबदबा कायम गरेका छन्। सुरुवाती ६ खेलमा सबै ‘प्लेयर अफ द म्याच’ अवार्ड नेपाली खेलाडीले जित्दै नयाँ कीर्तिमान बनाएका हुन्।
प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीका शेर मल्ल, दोस्रो खेलमा चितवन राइनोजका कमलसिंह ऐरी, तेस्रो म्याचमा कर्णालीका युनिसविक्रम ठकुरी, चौथो म्याचमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, पाँचौँ खेलमा जनकपुर बोल्ट्सका राहुल यादव र छैठौँ म्याच कर्णाली याक्सका कप्तान सोमपाल कामी खेलका ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।
Advertisement

Advertisement
Advertisement
विशेषगरी युवा बलर राहुल यादवले दुई खेलमा ६ विकेट लिँदै आफ्नो क्षमता देखाएका छन्। यस्तै, कप्तान सोमपाल कामीले विराटनगरविरुद्ध अविजित ६२ रन बनाउनुका साथै ४ विकेट लिएर उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे।
ब्याटिङतर्फ विराटनगरका लोकेश बम ११३ रनसहित शीर्ष स्थानमा छन् भने बलिङमा राहुल यादव ६ विकेटसहित अगाडि छन्। दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र लोकेश बमसहित नेपाली खेलाडीले अर्धशतकमा पनि प्रभाव जमाएका छन्।
विश्वचर्चित विदेशी खेलाडी सहभागी प्रतियोगितामा नेपाली क्रिकेटरले देखाएको प्रदर्शनले घरेलु खेलाडीको क्षमता र सम्भावनालाई उजागर गरेको छ। सुरुवाती खेलमा देखिएको यो लयले नेपाली क्रिकेटप्रेमीमा थप उत्साह जगाएको छ।
नेपाल क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर ५ गते हुनेछ।





