


काठमाडौं, ३ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन नसकिने प्रतिक्रिया दिएका छन् ।
नेकपा एमाले स्थानीय विकास विभागको काठमाडौंमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले सिमरामा भएको घटनाप्रति लक्षित गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘बारामा हाम्रो युवा भेला थियो । सिमरा एयरपोर्ट बन्द भयो । हाम्रा नेताहरु जान पाउनुभएन । जानबाट रोकियो । एयरपोर्टमै तोडफोड गर्न दिइयो । ५०-६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने ?’ उनले प्रश्न गर्दै भने, ‘के हो यस्तो ? अनि भन्छ चुनाव गर्ने रे ? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?’
बुधवार मधेश प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितको टोली आउने भएपछि बाराको सिमरामा प्रहरी र युवाबीच झडप भएको थियो । जसपश्चात स्थिति भड्किन नदिन सिमरामा कर्फ्यू आदेश जारी गरिएको छ ।

