


सिमरा,४ मंसिर। बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रले सिमरामा आन्दोलनरत जेनजीहरुलाई वार्तामा आउन आग्रह गरेका छन्।
जेनजीका बारा संयोजक सम्राट उपाध्यायसँग कुरा गर्दै सिडिओ मिश्रले वार्ताका लागि बोलाएका हुन्। उनले जेनजी युवाको मागका विषयमा छलफल गर्नका लागि वार्तामा आउन आग्रह गरेका थिए।

जवाफमा उपाध्यायले आफूहरु वार्तामा बस्न तयार रहेको बताएका छन्। दुवै पक्षबीच कलैयामा वार्ता हुने बताइएको छ।
कलैयातर्फ हिँड्नै लाग्दा जेनजी समूहबीचमै विवाद भएपछि अहिले उनीहरु सिमराको मुख्य बजारमा बैठक बसिरहेका छन् ।
बुधवार जेनजीको शान्तिपूर्ण प्रदर्शनमा गएर अभद्र व्यवहार प्रदर्शन गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने उनीहरुको मुख्य माग छ। साह पक्राउ परेपछि मात्रै वार्तामा जाने अडानमा केही जेनजी समूह छन्।

