
भैरहवा, ८ मंसिर। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सञ्चालित ‘शहरी उत्थानशिलता तथा जीविकोयापन सुधार आयोजना’ (यूआरएलआईपी) को प्रगति समीक्षा बैठक सकिएको छ ।
बैठकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, एडीबीका टीम लिडर नरेश गिरी, परियोजना समन्वय इकाई (पीसीओ) का योजना प्रमुख प्रकाश अर्याल, सह–व्यवस्थापक चन्द्रशेखर महतो, परियोजनाका परामर्शदाता र निर्माण कम्पनीका प्रतिनिधिहरुको सहभागिता थियो ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै तिलोत्तमा, देवदह, लुम्बिनी साँस्कृतिक र सैनामैना नगरपालिकाका योजना शाखा प्रमुखहरुको पनि उपस्थिती थियो । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख खाँले गुणस्तरीय रुपमा समयमै काम सम्पन्न गर्ने गरी काम अगाडि बढाउन र सबै सरोकारवाला, स्थानीयसँग समन्वय गरेर काम अगाडि बढाउन निर्देशन दिए। उनले कुनै पनि बहानामा काममा विलम्ब हुन नहुने बताए।
बैठकले परियोजनाको हालसम्मको भौतिक तथा आर्थिक प्रगति, आगामी कार्ययोजना, समन्वय तथा सहकार्यका विषयमा विस्तृत छलफल गरेको थियो।
एडीबी टोली, पीसीओ, पीआईयू र सम्बन्धित नगरपालिकाहरुबीच परियोजनालाई थप प्रभावकारी बनाई समयमै सम्पन्न गर्न आवश्यक रणनीति र जिम्मेवारीबारे स्पष्ट सहमति कायम भएको सिद्धार्थनगर नगरपालिका प्रशासन महाशाखा प्रमुख एवं सूचना अधिकारी देव प्रसाद ज्ञवालीले जानकारी दिए।
उनका अनुसार सबै पक्षबाट परियोजनाप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ। आगामी दिनमा अझ सशक्त समन्वय र सहकार्यका साथ अघि बढ्ने समझदारी बनेको बताइएको छ।
रुपन्देहीका पाँच नगरपालिकामा सुरु भएको उक्त आयोजनाले शहरी पूर्वाधार, जलवायु अनुकूलन र बसोबासयोग्य शहर निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

