


काठमाडौं, ३ पुस। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरुलाई आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरेका छन्।
गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर पौडेलले विगतका कठिन समयको स्मरण गराउँदै निजी क्षेत्रले धेरै आरोह–अवरोह पार गरेर यहाँसम्म आइपुगेको र अबको समयमा पनि अघि बढ्न साहस गर्नुपर्ने बताए।

उनका अनुसार मनोबललाई स्थिर बनाइराख्ने केही आधारहरू छन्। जसमा आवधिक र स्वच्छ निर्वाचन प्रमुख हो। कम स्रोत भएका व्यक्तिहरुले पनि स्वतन्त्र रुपमा उठेर चुनाव जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष भएको उनले उल्लेख गरे। परम्परागत दल बाहिरबाट पनि हरेक निर्वाचनमा प्रतिनिधि निर्वाचित हुनु देश अघि बढिरहेको संकेत भएको उनको भनाइ छ।
उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउन आह्वान समेत गरे। उर्जा र यातायातजस्ता पूर्वाधार क्षेत्रमा ठूलो खर्च गर्न आँट गर्नुपर्ने बेला आएको उल्लेख गर्दै उनले बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे।
उनले बोण्ड जारी गर्ने विषयमा पनि निजी क्षेत्रसँग निरन्तर छलफल र नेगोसेसन भइरहेको जानकारी दिए। उर्जा क्षेत्रमा उत्पादन, प्रसारण र वितरणमा थप लगानीको आवश्यकता औँल्याउँदै यातायात पूर्वाधारमा पनि ठूलो लगानी गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए। यसका लागि नेपाल राष्ट्र बैंकले नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिवद्धता जनाए।
सकारात्मक आधारलाई आत्मविश्वासका साथ उपयोग गर्दै निजी क्षेत्रले लगानी बढाए अर्थतन्त्र थप गतिशील बन्ने उनले विश्वास व्यक्त गरे।

