

भैरहवा, ३ पुस । उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्तसहित रिहा गर्ने आदेश गर्दा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको थुनामै रहने भएका छन् ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सक्कल प्रमाणसहित निवेदन दिएमा पूनःविचारका लागि सक्कल मिसिल जिल्ला अदालतमा पठाउन आदेश गरेको छ ।
Advertisement

Advertisement
Advertisement
जोशीले उच्च अदालतमा दिएको निवेदन रितपूर्वक पेश नभएकोले उनको हकमा यस्तो आदेश आएको मुद्दाको बहस गरेका एक अधिवक्ताले बताए ।
जोशीको हकमा आदेशमा भनिएको छ–‘मेरो हकमा दामासाहीले कायम हुने बिगो वापत जमानत दिई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार आदेश गरीपाउँ भनी जमानतको छायाप्रति सहित अनुरोध गरेको देखिँदा सो समेतको परिस्थितिलाई विचार गरी ०८२ असोज २६ मा भएको सुरु जिल्ला अदालतको आदेश बदर गरिदिएको छ । पक्षले सक्कल प्रमाण सहित निवेदन दिएमा पूनः विचार गर्नु भनी सक्कल मिसिल सुरु जिल्ला अदालतमा पठाईदिनू ।’
‘जोशीले अदालतमा दिएको निवेदन रविको जस्तै भएको भए उनको हकमा पनि थुनामुक्त हुने आदेश आउँथ्यो’, ती अधिवक्ताले भने,‘अब उच्चको आदेशले फेरी जिल्ला अदालतमा गएर निवेदनसहित बिगो बराबरको बैंक जमानत पेश गरे रवि जस्तै थुनामुक्त आदेश हुने अवस्था रहन्छ ।’





