
भैरहवा,१२ पुस। शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि लुम्बिनी न्यूज फेस्टिबल सुरु भएको छ। लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा आजदेखि ‘तेस्रो लुम्बिनी न्यूज फेस्टिबल’ सुरु भएको हो ।
आजदेखि सुरु भएको लुम्बिनी न्यूज फेस्टिवल पुष १४ गते सकिनेछ। लुम्बिनीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सभाहलमा आयोजना गरिएको न्यूज फेस्टिवलमा पत्रकारिताको प्रबद्र्धन, पत्रकारिताको माध्ययमबाट लुम्बिनीको प्रबद्र्धन र यस क्षेत्रका मुद्दाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न फेस्टिवल आयोजना गरिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

न्यूज फेस्टिबल कार्यक्रममा मोफसलको समग्र पत्रकारिता, संघीयतामा प्रेसको संरचना, आर्थिक विकास र पर्यटन प्रबद्र्धनमा पत्रकारको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाको विषयमा नेपालमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सिर्जना गरिने उनको भनाइ छ ।
न्यूज फेस्टिवलले मोफसलको पत्रकारितालाई थप उचाइ प्रदान गर्ने विश्वास लिइएको क्लबका अध्यक्ष कमल रायमाझीले बताए। उनका अनुसार यो कार्यक्रमका माध्ययमबाट यस क्षेत्रको आर्थिक, सामाजिक, राजनीतिक, औद्योगिक एवं व्यवसायिक मुद्दा, स्थानीय तह र प्रदेश सरकारको भूमिका, प्रभावकारिता र गर्नुपर्ने कामबारे राष्ट्रिय रुपमा नै बहस सिर्जना हुनेछ।
कार्यक्रममा भारतको दिल्ली प्रेस क्लब, काशी पत्रकार संघ, बनारस प्रेस क्लब, गोरखपुर प्रेस क्लब, महाराजगन्ज प्रेस क्लब, सिक्किम प्रेस क्लबबाट पत्रकारहरुको सहभागिता रहने महासचिव प्रकाश न्यौपानेले जानकारी दिए।
भारतीय राष्ट्रिय मिडियाका प्रभावशाली पत्रकारहरु र बीबीसी हिन्दीदेखि सहाराका सम्पादक तथा पूर्वसम्पादकहरु आउने क्रममा रहेको क्लबले जनाएको छ।
यस्तै, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु, सभामुख, उपसभामुख, प्रतिपक्षी दलका नेता, प्रदेश सरकारका सचिवहरु, प्रदेश पत्रकार महासंघ, प्रदेशका १२ जिल्लाका पत्रकार महासंघका अध्यक्ष, चितवन, बर्दिया र पोखराबाट पर्यटन व्यवसायी तथा पत्रकारहरु, रुपन्देही, कपिलवस्तु र नवलपरासी (ग्रेटर लुम्बिनी) क्षेत्रका पत्रकार, स्थानीय तहका जनप्रतिनिधि, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका अधिकृत तहका कर्मचारी, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यार्थी र सर्वसाधरण सहभागिता रहने बताइएको छ।
आयोजकका अनुसार कार्यक्रम उद्घाटन सत्रपछि ‘सीमापार सम्बन्धः आवश्यकता र सम्भावनाना’, ‘लुम्बिनीः लगानी र पर्यटनको सामथ्र्य’ र ‘पत्रकारितामा प्रश्नः जिम्मेवारी र जवाफदेहिता’ विषयमा प्यानल डिस्कसन हुनेछ। यसले लुम्बिनी क्षेत्रको ब्राण्डिङ गर्नुका साथै लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र सीमापार सम्बन्धलाई अझै मजबुत पार्ने क्लबका उपाध्यक्ष दीपक घिमिरेले बताए।
‘पत्रकारितामा सफलताका लागि काठमाडौँ भन्ने परम्परालाई बाहिर बसेकाले पनि गरेको मेहनतबारे यो कार्यक्रमले विशेष महत्व राख्ने अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा.बालकृष्ण चापागाईले बताए।
‘मुलुकमा संविधान जारी भएर संघीयता कार्यान्वयन भएको लामो समय भइसकेको छ। संघ, प्रदेश र स्थानीय सरकार कार्यान्वयन भइसकेका छन्। यससँगै सिंहदरबारको अधिकार घरघरमा पुगेको छ। यसले काठमाडौँमा केन्द्रित शासनव्यवस्था विकेन्द्रिकृत भएको छ। यससँगै मुलुकमा रहेका संचारमाध्यामले आफूलाई संघीय स्वरुप प्रदान गरिरहेका छन्। तर पत्रकारिताको मूलधार अझै संघीय राजधानीमै केन्द्रित छ । यस्ता कार्यक्रमले यी विषयलाई चिर्दै जानेछ,’उनले भने।
क्लबले २०७६ साल मंसिर १, २ र ३ गते प्रथम लुम्बिनी न्यूज फेस्टिबल आयोजना गरेको थियो। कोरोना महामारीलगायत कारण यसलाई वार्षिक रुपमा निरन्तरता दिन नसकेपछि २०८० मा भैरहवामा दोस्रो न्युज फेस्टिबल गरेर यसपटक लुम्बिनीमा भव्यरुपमा ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना गर्न लागिएको उपाध्यक्ष घिमिरेले बताए।
क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले मोफसलमा रहेका पत्रकारहरुको क्षमता, रचना र योजना यसखालका कार्यक्रमले देखाउने बताउँदै स्वदेशसँगै विदेशबाट आउने विशिष्ट पत्रकारले यो क्षेत्रको पत्रकारितासँगै पर्यटन, आर्थिक क्षेत्र र पत्रकारिताले उठाउनुपर्ने एजेण्डाका विषयमा बहस गराउने उल्लेख गरे।
यस्ता कार्यक्रमले सकारात्मक चिन्तन र आलोचनात्मक समर्थनलाई बढाउँदै लुम्बिनी र आसपास क्षेत्रका विषयमा छलफल, सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था र विदेशी मित्रराष्ट्रका कुटनीतिक नियोगहरुसँग समन्वय र सहकार्य गरी अधिकारमा आधारित दिगो विकासमा टेवा पुर्याउने उनको भनाइ छ ।

