


दाङ, १३ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई अब साक्षरबाट शिक्षित प्रदेशको रुपमा घोषणा गर्ने गरी सरकारले प्राथमिकताका साथ काम गर्ने बताएका छन्।
आइतबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित लुम्बिनी प्रदेश साक्षर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबै सरोकारवालाको अथक प्रयासका कारण साक्षर प्रदेश घोषणा सम्भव भएको र यसलाई दीगो रुपमा अघि बढाउने जिम्मेवारी सबैको हुने बताए।

‘घोषणा आफैंमा ठूलो कुरा होइन । साक्षरतालाई टिकाइराख्नु मुख्य विषय हो। अब हामी साक्षरबाट शिक्षित प्रदेशको घोषणा गर्नेतर्फ छिट्टै अघि बढ्नुपर्छ,’उनले भने,‘यससँगै प्रदेशलाई दुव्र्यसनमुक्त बनाउने अभियान पनि सशक्त रुपमा अघि बढाउन आवश्यक छ।’
उनले नवयुवाहरु दुव्र्यसनमा फस्नु चिन्ताको विषय भएको उल्लेख गर्दै दुव्र्यसनमुक्त प्रदेश बनाउने विषय सबैको साझा संकल्प हुनुपर्ने बताए।
प्रदेशमा साक्षरताको मापदण्ड पूरा भइ १५ देखि ६० वर्ष उमेर समूहको औसत साक्षरता दर ९६.१६ प्रतिशत पुगेकाले लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको मुख्यमन्त्री आचार्यले जानकारी दिए।
लुम्बिनी प्रदेशमा पाँच हजार ७ सय २२ सामुदायिक बाल विकास केन्द्र, ४ हजार ४ सय ३९ सामुदायिक विद्यालय, तीन वटा विश्वविद्यालय, एक सय ८७ क्याम्पस र तीन सय २९ सामुदायिक सिकाइ केन्द्र रहेका छन्। प्रदेशभर विद्यालय तहमा १२ लाख ४६ हजार २ सय ७२ विद्यार्थी अध्ययनरत छन्।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेशको शैक्षिक गुणस्तर वृद्धि गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताए। उनले अझै विद्यालय बाहिर रहेका ४२ हजार विद्यार्थीलाई विद्यालय शिक्षामा ल्याउन सक्रियता बढाउनुपर्नेमा जोड दिए।

