
भैरहवा, १४ पुस । लुम्बिनी समाचार महोत्सवमा जिम्मेवार पत्रकारिता, सीमापार सम्बन्ध, लुम्बिनीको विकासका लागि संवाद, तथ्यपरक सूचना र सरोकारवालाबीच सहकार्य अनिवार्य भएको विभिन्न बहस तथा प्यानल छलफलबाट निष्कर्ष निकालिएको छ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीद्धारा लुम्बिनीमा आयोजित तेस्रो लुम्बिनी समाचार महोत्सवमा पत्रकारितामा प्रश्न: जिम्मेवारी र जवाफदेहिता, सीमापार सम्बन्ध : आवश्यकता र सम्भावना तथा लुम्बिनी: लगानी र पर्यटन विषयमा नेपाल, भारतका पत्रकारहरुसहित सरोकारवालाबीच भएको बहस तथा प्यानल छलफल गरिएको छ।
Advertisement

Advertisement
Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोफसलको पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सिर्जना गर्नु आजको आवश्यकता भएको बताए । मिडियाबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुने सक्ने भन्दै सकारात्मक र तथ्य आधारित समाचारले आपसी सम्बन्ध बलियो बनाउने उनको भनाई छ।
पत्रकारितामा प्रश्न: जिम्मेवारी र जवाफदेहिता विषयक प्यानल छलफलमा वक्ताहरुले सत्य, सन्तुलन र संवेदनशीलता पत्रकारिताको मूल आधार भएको उल्लेख गर्दै सामाजिक संजालको प्रभावसँगै बढ्दो गलत सूचनाको जोखिम न्यूनीकरण गर्न आचारसंहिता पालना अनिवार्य रहेको बताएका छन्। जिम्मेवार पत्रकारिताले मात्र सार्वजनिक विश्वास कायम गर्न सक्नेमा उनीहरुको जोड छ।
अन्नपूर्ण पोस्ट् दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारीले मिडियासँग ठूलो जिम्मेवारी र जवाफदेहिता हुने भएकाले पत्रकारिताले सधैं सत्य बोल्न, सत्य देखाउन र सत्य व्यवहार गर्नुपर्ने बताए।
‘गल्ती गर्यो भने ‘मैले गल्ती गरेँ’ भन्न सक्नुपर्यो, प्रश्न उठ्यो भने जवाफ दिनुपर्छ र आवश्यक परे सच्चिन/सच्याउन सक्नुपर्छ । यो मामिलामा नेपाली पत्रकारिता धेरै अगाडी बढ्दै गएको छ’, पत्रकारितामा प्रश्न : जिम्मेवारी र जवाफदेहिताको छलफल प्यानलमा अन्नपूर्ण पोष्ट् दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारीले भने,‘हामीमा भएको समस्या ‘थ्यांक्यू’ र ‘सरी’ भन्नमा अलि पछाडी छौं । ‘सरी’ भन्नुपर्ने ठाउँ छ भने किन नभन्ने ?’
उनले थपे–‘हाम्रो समाचार सामग्रीको ‘ओभरअल भ्यालू’ यस्तो हुनुपर्छ कि राज्य र समाजका लागि हामीले के योगदान गर्यौं भन्ने प्रश्नको जवाफ दिन सकोस्।’
आलोचना पनि जिम्मेवार ढंगले हुनुपर्नेमा जोड दिँदै गल्ती स्वीकार्ने संस्कृतिले नै पत्रकारितालाई विश्वसनीय बनाउने उनको भनाई छ । प्रविधि र एआई प्रयोगबारे बोल्दै छापा माध्यममा पनि एआईको प्रयोग सुरु भइसकेको उनले समयसँगै पत्रकारिता अघि बढिरहेको बताए।
प्रधानसम्पादक भण्डारीले मिडिया कर्मबाट माथि उठेकै व्यक्तिले अगुवा पत्रकारमाथि लगाएको १२ भाइको नामाकरणले मिडियाको विश्वसनीयतामाथि अनुचित प्रहारका साथ सिंगो समाजलाई दिग्भ्रमित गरेको र असल पत्रकारलाई समेत नकारात्मक दृष्टिले हेर्ने परिपाटी विकास भएका् बताए । उनले राजनीतिक दल निकटका पत्रकारहरुको जनवर्गीय संगठनका कारण पनि निष्पक्ष पत्रकारितामाथि प्रश्न उठेको बताए।
प्रेस काउन्सील, नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले सूचनाको भेरिफाई र सम्पादन बिना प्रवाह गरिने समाचारले समाजलाई दिग्भ्रमित पार्ने र अप्रिय घटना समेत निम्त्याउनेतर्फ सधैँ सजग बन्नुपर्ने बताए।
पत्रकारहरु समाचार लेख्न स्वतन्त्र भए पनि त्यसले पार्ने असर र प्रभावबारे जिम्मेवार र जवाफदेही बन्नै पर्ने उल्लेख गरे । ‘मिडियाहरु बढी अधिकारमुखी मात्र भएर पुग्दैन, जिम्मेवारमुखी पनि उत्तिकै हुनुपर्छ, आचारसंहिता पालना गरेकै हुनुपर्छ’,उनले भने,‘पत्रकारले आफ्नो मर्यादा राखे मात्र पत्रकारिता मर्यादित हुन्छ ।’
पत्रकारिता अध्येता मिनाक्षी न्यौपानेले पत्रकारिताको मूल आधार सत्य, सन्तुलन र संवेदनशीलता भएको उल्लेख गर्दै सामाजिक संजालको प्रभावले गलत सूचना फैलिने जोखिम बढेकाले पत्रकार थप सचेत हुनुपर्ने बताइन्।
प्यानल छलफमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि कृष्णप्रसाद शर्माले आर्थिक तथा व्यावसायिक समाचारमा तथ्य र विश्वसनीयता अनिवार्य रहेको जोड दिदै जिम्मेवार पत्रकारिताले लगानीमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने बताए।
बदलिँदो भूराजनीतिक अवस्था, सीमा क्षेत्रका सामाजिक–आर्थिक चुनौती र अवसरबारे साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यले सीमापार सम्बन्ध:आवश्यकता र सम्भावनाबारे भएको प्यानल छलफलमा सीमा क्षेत्रका सामाजिक–आर्थिक मुद्दा, सांस्कृतिक सहकार्य र विश्वास निर्माणमा संचारमाध्यमको भूमिका महत्वपूर्ण रहेको निष्कर्ष निकालिएको छ।
नेपाल पत्रकार महासंघकको अध्यक्ष निर्मला शर्माले नेपाल–भारत सीमापार सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र जनजीवनसँग गाँसिएको विषय भएको उल्लेख गर्दै पत्रकारिता र बौद्धिक बहसले यसलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइन्। उनले सीमा क्षेत्रका समस्या समाधानका लागि तथ्यपरक संवाद र विश्वास निर्माण आवश्यक रहेको धारणा राखिन्।
नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले संचारमाध्यमले सन्तुलित र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै सीमापार सम्बन्धलाई कूटनीतिक विषयका रुपमा मात्र नभई जनस्तरको सरोकारका रुपमा हेर्नुपर्ने बताए।
भारतीय पत्रकार सञ्जय सिंहले नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै सीमा क्षेत्रका मुद्दामा दुवै देशका संचारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताए।
लुम्बिनी:लगानी र पर्यटन विषयक प्यानल छलफलमा लुम्बिनीमा लगानी बढाउन र पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाबीच सहकार्य र एकता आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
सहभागी वक्ताहरूले लुम्बिनी विकासका लागि स्थानीय सरकार, लुम्बिनी विकास कोष, निजी क्षेत्र र स्थानीयबीच सहकार्य र एकता अनिवार्य रहेको बताएका छन् । सरोकारवालाबीच समन्वयको अभावले अपेक्षित लगानी र पर्यटन विकास हुन नसकेको उल्लेख गर्दै सबै पक्ष हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।
प्यानल छलफलमा सहभागि कान्तिपुर टेलिभिजनका सम्पादक रुपेश श्रेष्ठले २२ बर्ष अगाडी आफु आउँदा लुम्बिनी जे देखेको अहिले पनि उस्तै हुुनु र लुम्बिनीका सरोकारवालाबीच लुम्बिनीको पर्यटन प्रबद्र्धनमा एकता र सहकार्य नहुुनु चिन्ताको विषय भएको बताए।
तीन दिनसम्म आयोजना गरिएको समाचार महोत्सवमा प्यानल छलफलका साथै दीप प्रज्वलन, शान्ति पद यात्रा समेत गरिएको छ । प्यानल छलफलहरुबाट पत्रकारिता, सीमापार सम्बन्ध र लुम्बिनीको विकास आपसमा गाँसिएका विषय भएकोले जिम्मेवार संचार, तथ्यपरक संवाद र सहकार्यबाट मात्र दिगो विकास सम्भवको सन्देश दिइएको छ।
महोत्सवले पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार, जवाफदेहिता र विश्वसनीय बनाउने, लुम्बिनीको पर्यटन प्रवद्र्धनका साथै सीमापारको सम्बन्धमा थप टेवा पुग्ने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको लुम्बिनी प्रेस क्लबले जनाएको छ ।

