


भैरहवा, २० पुस । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकाबाट पर्यटक आगमनको संख्यामा वृद्धि भएको छ ।
अध्यागमन कार्यालय बेलहियाका अनुसार, सन् २०२४ मा यस नाका हुँदै तेस्रो मुलुकका ९२ हजार ६४४ पर्यटकको आगमन भएकोमा सन् २०२५ मा संख्या बढेर पर्यटक आगमनको संख्या एक लाख तीन हजार ९५५ पुगेको छ।

गत वर्ष २०२५ मा एक लाख २० हजार पर्यटक आगमन हुने आंकलन गरिएको थियो तर जेनजी आन्दोलनका कारण पर्यटकको आगमनको संख्या बढ्न सकेन अध्यागमन कार्यालय बेलहियाका प्रमुख वासुराम पौडेलले भने, त्यसो त २०२४ भन्दा २०२५ मा पर्यटक अगामनको संख्यामा केही वृद्धि भएको छ ।
सन् २०२५ मा बेलिहया नाका हुँदै सबैभन्दा बढी श्रीलंकाका ३४ हजार ३६६ पर्यटक मुलुकमा भित्रिएका छन् । त्यस्तै क्रमश: म्यानमारका १९ हजार ९६२, थाइल्यान्डका १९ हजार १९५, भियतनामका सात हजार ६४५, दक्षिण कोरियाका तीन हजार ८२ र संयुक्त राज्य अमेरिकाका दुई हजार १४९ जना पर्यटक यस नाका हुँदै आएका छन्।
कार्यालयका अनुसार सबैभन्दा बढी मार्च महिनामा २० हजार ७२० पर्यटक यस नाका हुँदै मुलुकमा भित्रिएका थिए । त्यस्तै फ्रेअुबरीमा १७ हजार ८७१, नोभेम्बरमा १६ हजार ३०५, अक्टोबरमा ११ हजार ६९७ र डिसेम्बरमा १० हजार ७२० पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ।
यो नाका हुँदै सन् २०१८ मा एक लाख ६६ हजार २३५, सन् २०१९ मा एक लाख ६१ हजार ६९१, सन् २०२० मा ४३ हजार ३६७, सन् २०२१ मा ८१२, सन् २०२२ मा २० हजार २२० र सन् २०२३ मा ८१ हजार ८०५ पर्यटकको मुलुकमा आगमन भएको कार्यालयले जनाएको छ ।

