


भैरहवा, २६ पुस। राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा साधारणसभाको उद्घाटन गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का अध्यक्ष तथा पूर्वसांसद सन्तोष परियारले तोकिएको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।
‘नेपाल सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने म्याण्डेट पाएको छ। अन्य कुरामा नलागी समयमै निर्वाचन सम्पन्न गराउनेतर्फ केन्द्रीत हुन म आग्रह गर्दछु,’ उनले भने । नेपाली विद्यार्थीहरुलाई संसारको कुनाकुनामा पठाएर ज्ञान आर्जन गराएर देश निर्माणका लागि स्वदेश फर्काउने वातावरण राज्यले नै बनाउनुपर्ने उनको भनाई छ।

कार्यक्रममा राष्ट्रिय शैक्षिक परामर्श संघ, नेपालका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले पढ्न आउने विद्यार्थीहरुको अभिभावकलाई पनि बुझाउन जरुरी रहेको बताए। उनले कुनै पनि देशको जोखिम र अवसरको बारेमा जानकारी दिन आग्रह गरे।
संघका केन्द्रीय उपाध्यक्ष रमन कोइरालाले लुम्बिनी प्रदेश शैक्षिक क्षेत्रमा अगाडी रहेको भन्दै विद्यार्थीहरुको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए। राष्ट्रिय शैक्षिक परामर्श संघ, नेपाल लुम्बिनी प्रदेश अध्यक्ष गणेश गौडेल, बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष बसन्त प्रसाद ढकाललगायतले मन्तव्य राखेका थिए।
विदुर खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचन, राष्ट्रिय शैक्षिक परामर्श संघ, नेपालका केन्द्रीय सदस्य मोहन तिगेला, ई–क्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेत, एनईसीए उपाध्यक्ष सुशील पाण्डे, सचिव नारायण पोखरेल, कार्यक्रम संयोजक योगेश ढकाल, राष्ट्रिय शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशको प्रचारप्रसार प्रमुख एवं मिडिया कोर्डिनेटर सूर्य गहतराज लगायतको उपस्थिति रहेको थियो ।

