


काठमाडौं,२९ पुस। चीनबाट अवैध रुपमा भित्राइएको इलेक्ट्रिक चुरोट (भेप) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् ।
सशस्त्र प्रहरी सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरी, भन्सार कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङमा ना ६ ख ७५९१ नम्बरको कन्टेनर चेकजाँच गर्दा ८० कार्टुन इलेक्ट्रिक चुरोट बरामद भएको हो । भेप बरामदसँगै कन्टेनर चालकलाई पक्राउ गरिएको हो ।

बरामद भेप २ करोड २४ लाख ५९ हजार ३२० रुपैयाँ बराबरको रहेको बताइएको छ ।
उक्त इलेक्ट्रिक चुरोट ३–४ दिनअघि चीनबाट अवैध रुपमा ल्याएर नेपाल–चीन सीमानास्थित कोरला नाका अगाडि गाडीमा लोड गरी राखिएको अवस्थामा फेला परेको थियो।
बरामद गरिएको सम्पूर्ण इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने पक्राउ परेका पेमा लामालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा पठाइएको छ।

