


काठमाडौं,४ माघ । संयुक्त राष्ट्र सङ्घीय अन्तरिम सुरक्षा बल अबिये मिसन (युनिस्फा) को फोर्स कमाण्डरमा नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ नियुक्त भएका छन्।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले रथी श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेका हुन्। यो नियुक्तिसँगै युनिस्फा मिसनमा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी प्राप्त गरेको छ। जसलाई ऐतिहासिक उपलब्धिका रुपमा लिइएको छ।

नेपाली सेनाले सन् १९९३ देखि हालसम्म विभिन्न पाँचवटा संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनहरुमा सात जना उच्च सैनिक अधिकृतलाई फोर्स कमाण्डरका रुपमा सफलतापूर्वक परिचालन गरिसकेको छ। रथी श्रेष्ठको नियुक्तिले नेपाली सेनाको शान्ति मिसनमा लामो समयदेखिको योगदान र विश्वासलाई निरन्तरता दिएको छ।
नेपाली सेनाले यस महत्वपूर्ण जिम्मेवारीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल तथा नेपाली शान्ति सैनिकहरुको प्रतिष्ठा अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ। श्रेष्ठ शनिवार मिसन क्षेत्रतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

