
काठमाडौं,६ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुलुकभर कुल ३ हजार ४ सय २८ उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीको १६५ सीटका लागि देशभरिबाट पुरुष ३ हजार ३७ र महिला ३ सय ९१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
Advertisement

Advertisement
Advertisement

प्रतिनिधि सभा सदस्यका लागि मनोनयन प्रक्रिया सकिएपछि अब दाबी-विरोध, अन्तिम नामावली र चुनावी तालिका अनुसारको प्रक्रिया अघि बढ्नेछ। पहिलो हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ।
सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचवुझ एवं निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

