


काठमाडौं,७ माघ। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार तोकिएको अवधिभित्र आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिएको छ।

आयोजित पत्रकार सम्मेलनमा भण्डारीले मनोनयनपत्र दाखिल गरेपछि प्रचार गर्न नपाइने भन्ने भ्रम चिर्दै निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्न र रायसुझाव लिन पाइने स्पष्ट पारे। तर, उनले ठूला आमसभा, गोष्ठी, सेमिनारजस्ता गतिविधि दलगत रुपमा गर्न नपाइने बताए।
निर्वाचन आचारसंहिता लागू भइसकेकोले आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी आएमा छानबिन गरी आवश्यक निर्णय लिने अधिकार रहेको उनको भनाई छ ।

