
काठमाडौं,११ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको सन्दर्भमा सार्वजनिक बौद्धिक वृत्तबाट सार्वजनिक बहस (पब्लिक डिबेट) को माग पश्चात नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बहसका लागि तयार हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी हुन अस्विकार गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश बनाउने र देश जलाउने प्रवृत्तिबीचको प्रतिस्पर्धाका रुपमा वर्तमान निर्वाचनलाई चित्रण गर्दै आफ्नो पार्टी नेकपा (एमाले) देश निर्माणको पक्षमा उभिएको दाबी गरेका छन्। उनका अनुसार चुनावी प्रचारका क्रममा फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइने सामग्रीमार्फत वास्तविक चरित्र लुकाउने प्रयास भइरहेकाले सार्वजनिक बहसको माग आएको हुनसक्छ।
Advertisement

Advertisement
Advertisement

यसपटकको निर्वाचनमा दलहरुले प्रधानमन्त्रीको फेस देखाएर निर्वाचनमा होमिएका छन् । मुख्यदलहरुमध्ये नेपाली कांग्रेसले गगनकुमार थापा, नेकपा एमाले केपी शर्मा ओली र रास्वपाले बालेन्द्र शाहलाई भावि प्रधानमन्त्रीको रुपमा देखाएको छ।
‘देश निर्माणमा यसअघि के गरियो र अब के गर्ने भन्ने विषयमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक हो,’ सामाजिक सञ्जालबाट ओलीले भनेका छन्, ‘यस्तो पब्लिक डिबेटमा उभिएर हामीले के गर्यौँ र अब कसरी काम गर्छौँ भन्ने एजेन्डा प्रस्तुत गर्न म तयार छु।’
जनताको माग अनुसार आफू पब्लिक डिबेटका लागि तयार भएको ओलीले लेखेको स्टाटसमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनले सहभागी नहुने प्रतिक्रिया दिएका छन्।
‘आफूलाई देश जलाउनेको रुपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरुको घर कता कता छन् तपाईंहरुलाई नै थाहा थियो! तपाईंहरुले आफैं २३ गते बच्चाहरु मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो? त्योपछि अरु कुरा गरौंला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ’, बालेनले ओलीको पोस्टमा लेखेका छन्।

