
काठमाडौं,१३ माघ । मुलुकमा क्यूआर कोडमार्फत विद्युतीय भुक्तानीमा ठगी बढेपछि नेपाल राष्ट्र बैंकले सर्तकता अपनाउन आग्रह गरेको छ ।
राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरुलाई क्यूआर भुक्तानी स्वीकार गर्दा सर्तकता अपनाउन आग्रह गरेको हो ।
Advertisement

Advertisement
Advertisement

नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका अनुसार, ग्राहकले देखाउने भुक्तानीको स्क्रिनसटमा मात्र भरोसा गर्दा विक्रेता ठगीको शिकार हुन सक्ने जोखिम उच्च रहेको छ। केन्द्रीय बैंकले स्क्रिनसट पुरानो भुक्तानीको रसिद वा नक्कली हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको हो।
राष्ट्र बैंकले क्यूआर भुक्तानी स्वीकार गर्दा मोबाइल बैंकिङ एप, एसएमएस वा बैंकबाट प्राप्त नोटिफिकेशनमार्फत खातामा रकम वास्तवमै जम्मा भएको हो कि होइन भन्ने पुष्टि गर्नुपर्ने अनिवार्य रहेको जनाएको छ।
भुक्तानी प्राप्त भएको यकिन नगरी कारोबार गर्दा ठूलो आर्थिक नोक्सानी हुन सक्ने जोखिम समेत औंल्याइएको छ। केन्द्रीय बैंकले सबै विक्रेता तथा सेवा प्रदायकलाई क्यूआर भुक्तानीका क्रममा उच्च सतर्कता अपनाउन र सुरक्षित भुक्तानी प्रक्रिया अवलम्बन गर्न आग्रह गरेको छ ।

