

भैरहवा, ११ कात्तिक। बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला बढी प्रभावित हुने पूर्वानुमान गरिएको छ।
चक्रवातको कारण लुम्बिनी, रुकुम पूर्व, रोल्पा, प्यूठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बढी प्रभावित हुने लुम्बिनी प्रदेश सरकारले जनाएको छ। यी जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
Advertisement

Advertisement
Advertisement
मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर कात्तिक १३ र १४ गते बढी प्रभावित हुन सक्ने अनुमान गरेको छ।
प्रभावित जिल्लाका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। यसबाट नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने मन्त्रालयले जनाएको छ।
सम्भावित जोखिम न्यूनीकरणका लागि मन्त्रालयले कात्तिक १२ गतेअघि नै धानबाली काट्ने र भित्र्याउने काम सम्पन्न गर्न किसानलाई आग्रह गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि अनुरोध गरिएको छ ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वसूचना प्रणालीबाट प्राप्त जानकारी नियमित रुपमा लिन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्ति तथा परिवारलाई आवश्यकताअनुसार विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तह,जिल्ला सुरक्षा समिति,सुरक्षा निकाय तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ।





