


काठमाडौं,१९ माघ। प्रधानमन्त्री सुशीला कार्कीले निष्पक्ष निर्वाचनका लागि नेपाल प्रहरीको भूमिका निर्णायक हुने बताएकी छन् ।
सोमबार नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहलाई काठमाडौंमा सम्बोधन गर्दै उनले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सुनिश्चितका लागि प्रहरीको भूमिका अत्यन्त संवेदनशील र निर्णायक हुने बताएकी हुन्।

उनले सुरक्षा निकायको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच भएको भन्दै कुनै राजनीतिक प्रभाव, दबाव वा पूर्वाग्रहबाट माथि उठेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिइन्।
परम्परागत अपराधसँगै साइबर अपराध, संगठित अपराध, वित्तीय अपराध, बहुदेशीय अपराध र सामाजिक द्वन्द्वका नयाँ आयामहरु देखा परिरहेका अवस्थामा प्रहरी निरीक्षकको भूमिका केवल आदेश पालनामा मात्रै सीमित नरही समाधानकर्ताको रुपमा विकसित हुनुपर्नेमा उनले जोड दिइन् ।

