


काठमाडौं,२६ माघ। राष्ट्रिय सभाले सरकारले फिर्ता लिने निर्णय गरेको सामाजिक सञ्जाल विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विचाराधीन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ औपचारिक रुपमा फिर्ता भएको छ। सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मत स्वीकृत भएको घोषणा गरे।

यसअघि विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभामा पेस गरेका थिए। उक्त विधेयक २०८२ भदौ १३ गते बसेको राष्ट्रिय सभाको बैठकबाट उत्पत्ति भई दफावार छलफलका लागि समितिमा पठाइएको थियो।
समितिमा विधेयकमाथि ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए। समितिका सभापति दाहालका अनुसार विधेयकबारे सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव तथा विभिन्न सरोकारवालासँग चरणबद्ध रुपमा अनौपचारिक छलफल गरिएको थियो।
सरकारले गत माघ २० गते उक्त विधेयक फिर्ता लिने निर्णय गरेको थियो।

