


भैरहवा, ४ फागुन। जनता समाजवादी पार्टी (जसपा), नेपालको जनसम्पर्क एवं क्षेत्र नम्बर १ रुपन्देहीको पार्टी तथा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद असलम खानले रोहिणी गाउँपालिका–३ स्थित धकधईमा पार्टी तथा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आफूहरुको लडाई पहिचान, अधिकारको रहेको बताए।

देशमा भएको बेरोजगारी अन्त्य गर्न क्षेत्र नम्बर १ को विकासका लागि आफनो उम्मेदवारी भएकोले निर्वाचनमा जिताउन उनले आग्रह गरे।
उनले अन्य पार्टीका व्यक्ति पटकपटक विजयी हुँदा पनि यस क्षेत्रको विकासका लागि कुनै काम नगरेकोले आफूले जनताको समस्या संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिमा ठोस नीति ल्याउन जसपा नेपाल सक्षम रहेको बताउँदै जनताको विश्वास जितेरै चुनाव जित्ने दावी गरे ।
कार्यक्रममा जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले रुपन्देही क्षेत्र नम्बर १ मा अब जसपा नेपालका उम्मेदवारलाई अवसर दिन आग्रह गरे।
जसपा नेपाल केन्द्रिय सदस्य विद्या प्रसाद यादवले यस क्षेत्रका सबैको अधिकार र पहिचानका लागि सडकदेखि लिएर सदनसम्म आवाज उठाउने प्रतिबद्धता जनाए ।

