
भैरहवा, ८ फागुन। रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रज्जवल बोहराले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राखिएको बताएका छन् ।
सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा उनले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्ने, अधिकार सम्पन्न स्थानीय सरकारको अवधारणा कार्यान्वयनमा जोड दिने तथा ठेक्का, बजेट र योजना प्रक्रियामा पूर्ण पारदर्शिता कायम गर्ने उल्लेख गरेका छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

‘जनताले सरकारी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्न डिजिटल प्रणाली अनिवार्य गरिनेछ,’ उनले भने, ‘सार्वजनिक सेवा छिटो, छरितो र पारदर्शी बनाउन प्रविधिको प्रयोग बढाइनेछ।’
उनले स्थानीय तहलाई अधिकार सम्पन्न र जवाफदेही बनाउन पहल गर्ने प्रतिवद्धता पनि जनाए। ‘संविधानले दिएको अधिकार व्यवहारमा लागू हुन सकेको छैन,’ उनले भने, ‘स्थानीय सरकारलाई स्रोत, साधन र अधिकारसहित सक्षम बनाउनेछु ।’
ठेक्का, बजेट र योजना निर्माण प्रक्रियामा देखिने अनियमितताप्रति लक्षित गर्दै बोहराले पूर्ण पारदर्शिताको प्रतिवद्धता व्यक्त गरे। ‘जनताको करबाट चल्ने योजनामा गोपनीयता हुन सक्दैन,’ उनले भने, ‘हरेक खर्च र निर्णय सार्वजनिक हुनुपर्छ।’
प्रत्येक वर्ष जनतासामु कामको प्रतिवेदन प्रस्तुत गर्ने र नागरिकले सोधेका प्रश्नको जवाफ दिने संस्कार बसाल्ने उनको दाबी छ। ‘चुनाव जितेपछि हराउने नेता होइन, नियमित रुपमा जनतासँग संवाद गर्ने प्रतिनिधि बन्नेछु,’ उम्मेदवार बोहराले भने, ‘जनताले सोध्ने मैले जवाफ दिने कामको सुरुवात पछि हुनेछ ।’ सुशासन कायम भए मात्रै विकासले गति लिने र जनविश्वास मजबुत बन्ने उनको भनाई छ।

