


भैरहवा, ९ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले विभिन्न वडा र भित्री बजारहरुमा नगरबस संचालनको योजना अघि सारेका छन्।
विभिन्न वडा र भित्री बजारहरुसम्म संचालनका लागि पहल गर्ने सार्वजनिक बस सेवाले विशेष गरी छात्र–छात्रा, ज्येष्ठ नागरिक र दैनिक यात्रुहरुलाई ठूलो सुविधा पुग्ने उनले विश्वास व्यक्त गरे । उनले भने,‘सस्तो, सुरक्षित र भरपर्दो सार्वजनिक यातायातका लागि पहल गर्ने हाम्रो प्रतिवद्धता हो।’

नेपाली कांग्रेसका अन्य नेताहरुले पनि यस योजनालाई स्वागत गर्दै नगरबस सेवा विस्तारले नागरिकको जीवनलाई धेरै सहज बनाउनेभन्ने टिप्पणी गरेका छन्।
‘म यहीको स्थानीय हो । निर्वाचन परिणाम जस्तो आएपनि म बस्ने यही हो’, उनले भने, ‘यस क्षेत्रको मलाई माया छ । मतदाताले साथ दिएको अवस्थामा नीति कानुन निर्माणका साथै मैले आफ्नै ठाउँको नै विकास गर्ने हो ।’
क्षेत्रका विभिन्न गाउँहरुमा अहिले पनि सार्वजनिक यातायातको पहुँच छैन । गुरुङको योजना कार्यान्वयन भएको अवस्थामा क्षेत्रवासी लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

