


काठमाडौं,१२ फागुन । निर्वाचन आयोगले शैक्षिक संस्थामा आबद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई निर्वाचन प्रचार–प्रसारमा संलग्न नहुन कडा निर्देशन दिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आयोगले यस्तो निर्देशन दिएको हो।
आयोगद्वारा जारी विज्ञप्तिमा केही प्राध्यापक तथा शिक्षकहरू राजनीतिक दल वा उम्मेदवारको पक्षमा प्रचार–प्रसारमा सक्रिय रहेको भन्ने उजुरी प्राप्त भएको उल्लेख छ। यस्ता गतिविधि कानुन विपरीत रहेको जनाउँदै आयोगले आवश्यक परे कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।

शिक्षा ऐन, २०२८ को दफा १६ ङ उपदफा (५) को खण्ड (छ) अनुसार शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिमा सदस्य रहेको पाइएमा पदबाट हटाइने व्यवस्था छ।
साथै, निर्वाचन आचारसंहिताका सम्बन्धित प्रावधानहरु उल्लंघन गर्ने जो–कोहीलाई आचारसंहिताको दफा ४८ बमोजिम कारबाही गरिने आयोगले जनाएको छ।

