
धकधई,१४ फागुन। प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय प्रजातन्त्र (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले व्यवसायिक कृषि प्रवर्द्धनदेखि किसानलाई उचित मूल्य र बजार सुनिश्चिततासम्मका विषयलाई प्रतिवद्धताको केन्द्रमा राखेका छन्।
बोहराले परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने योजना अघि सारेका छन्। ‘अब कृषिलाई निर्वाहमुखी होइन, आम्दानीमुखी बनाउनु पर्छ,’उनले भने,‘व्यवसायिक कृषि प्रवर्द्धनमार्फत युवालाई समेत खेतबारीमै आकर्षित गर्ने वातावरण मैले बनाउँछु।’
Advertisement

Advertisement
Advertisement

उनका अनुसार किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य नपाउने समस्या दीर्घकालीन समस्या बनेको छ। त्यसलाई समाधान गर्न स्थानीय तह र निजी क्षेत्रसँग सहकार्य गरी स्थायी बजार संरचना विकास गरिने उनले बताए। ‘किसानले उत्पादन गर्यो, तर बजार पाएन भने त्यो अन्याय हो,’ उनी उम्मेदवार बोहरा भन्छन्, ‘हामी किसानलाई उचित मूल्य र बजार सुनिश्चितता दिन ठोस पहल गर्छौं।’
सिँचाइ अभाव, भण्डारणको कमी र आधुनिक प्रविधिमा पहुँच नहुँदा किसानले भोग्दै आएको समस्या समाधानका लागि पनि योजनाबद्ध कार्यक्रम ल्याउने उनको दावी छ। विशेष गरी सिँचाइ विस्तार, चिस्यान केन्द्र स्थापना र आधुनिक कृषि उपकरणमा सहुलियत दिने योजना अघि सारिएको उनले उल्लेख गरे।
खाद्य सुरक्षालाई राष्ट्रिय स्वाभिमानसँग जोड्दै बोहराले आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन्। ‘हामीले उत्पादन गर्न सक्ने वस्तु विदेशबाट ल्याउनु परिरहेको अवस्था अन्त्य गर्नुपर्छ,’उनले भने, ‘आयातमा निर्भरता घटाउँदै स्वदेशी उत्पादन बढाउने दिशामा नीतिगत पहल गरिन्छ ।’
रुपन्देही–१ कृषिको राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले योजनाबद्ध लगानी र नीति सहयोग भए आत्मनिर्भरता सम्भव रहेको उनको विश्वास छ । चुनावी मैदानमा रहेका बोहराले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा स्थापित गर्ने दाबी गर्दै मतदातासमक्ष समर्थन मागिरहेका छन् ।

