
काठमाडौं,१९ फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सोमबार राति १२ बजेबाट सुरु भएको छ। मौन अवधि सुरु भएपछि राजनीतिक दल र उम्मेदवारहरुले चुनाव प्रचार–प्रसारको काम गर्न नपाउने व्यवस्था छ ।
मतदानको अघिल्लो ४८ घण्टा अघिदेखि मतदान सकिएर मतदान केन्द्र बन्द नभएसम्म आयोगबाट प्रचार–प्रसार निषेध अवधि तोकिएकाले सोमबार राति १२ बजेपछि निर्वाचनका प्रचार–प्रसार गरी मत माग्न नपाइने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

प्रचार–प्रसार निषेध अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विशेष आचरण निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ।
के–के गर्न पाइँदैन ?
१. निर्वाचन प्रचारप्रसारमा रोक
निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन।
२. भोजभतेर र हुलहुज्जत गर्न नहुने
बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन हुँदैन।
३. सामाजिक सञ्जालमा कडाइ
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा सेयर गर्न वा गराउनु हुँदैन।
४. कुनै पनि तरिकाबाट मत माग्न नपाउने
निर्वाचन प्रचार–प्रसार तथा मत माग्नका लागि साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन।
५. मतदानमा बाधा पुर्याउन नहुने
मतदान कार्य प्रारम्भ हुनुभन्दा ३ घन्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्नुहुँदैन।
६. विज्ञापन हटाउनुपर्ने
राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचार–प्रसारका सामग्री हटाउनुपर्छ।
७. मतदान केन्द्रमा शान्ति कायम राख्नुपर्ने
मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन।
८. प्रचार–प्रसार सामग्री हटाउनुपर्ने
मतदान हुने दिनको ४८ घन्टा अघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ।
स्रोत: निर्वाचन आयोग, नेपाल

