


काठमाडौं,२चैत। नेपालको विद्युत् नियमन आयोगले डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवादमा पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिल सम्बन्धी मुद्दामा मागदावी नपुग्ने निर्णय गरेको छ।
दुवै कम्पनीले नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइन प्रयोग गर्दा लगाइएको बक्यौता महसुल अन्यायपूर्ण भएको भन्दै खारेज गर्न र क्षतिपूर्ति दिलाउन आयोगमा निवेदन दिएका थिए।

प्राधिकरणका अनुसार, पञ्चकन्या प्लास्टिकले २४ लाख ६३ हजार रुपैयाँ र पञ्चकन्या स्टिलले ५२ लाख ११ हजार रुपैयाँ महसुल तिर्न बाँकी छ। प्राधिकरणको आग्रहपछि पञ्चकन्या प्लास्टिकले ७७ हजार ९७५ रुपैयाँ र पञ्चकन्या स्टिलले १ लाख ८६ हजार रुपैयाँ बुझाइसकेका छन्।
आयोगका अध्यक्ष रामप्रसाद धितालले पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको मागदाबी नपुग्ने निर्णय भएको जानकारी दिए। यस निर्णयसँगै प्राधिकरणलाई बाँकी महसुल उठाउने बाटो खुलेको छ। निर्णयप्रति चित्त नबुझेको खण्डमा आवेदक अदालत जान सक्ने मार्ग प्रशस्त हुन्छ।
आयोगले प्रचलित नियम कानुन तथा विगतको नजिरका आधारमा आवश्यक निर्णय गर्दै आएको छ। नेपालको ऊर्जा क्षेत्रको नियमनकारी निकायका रुपमा रहेको आयोगले यस क्षेत्रको विवाद निरुपण गर्दै आएको छ ।

