
भैरहवा, ८ चैत। दीर्घकालीन फोहोरमैला व्यवस्थापनका लागि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले वर्गीकरण गरिएको फोहोरमैला संकलन गर्ने जनाएको छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले आगामी चैत १८ गतेदेखि फोहोर वर्गीकरण नगर्ने जुनसुकै निकायको फोहोर पालिकाले नउठाउने नगर कार्यपालिकाले निर्णय गरेको बताए।
Advertisement

Advertisement
Advertisement

नगरपालिकाले कुहिने जैविक फोहोर घरेलु फोहोरमैला (खाना पकाउँदा बाँकी रहेका अवशेष, भात, दाल, तरकारी तथा फलफूलका बोक्रा, सागसब्जी, पातिङ्गर, घाँस, चिया तथा कफीका अवशेष आदि कुहिने फोहोर) जस्ता सडिगली जाने प्रकृतिका घरायसी वस्तुहरु, नकुहिने (अजैविक) फोहोरमैलामा प्लाष्टिक, पोलिथिन, रबर, कपडा, जुत्ता, ब्याट्री, विद्युतीय सामानहरुका अवशेष जस्ता सडिगली नजाने प्रकृतिका फोहोरहरु तथा नकुहिने (अजैविक) फोहोरमैला अन्र्तगत सिसा, काँच, धातु, टिन लगायत सडिगली नजाने प्रकृतिका कवाडहरु वर्गीकरण गर्न अनुरोध गरेको छ।
उनले उल्लेखित प्रकृतिका फोहोरहरु वर्गीकरण नगरिएमा नगरपालिकाले फोहोरमैला नउठाउने र सोको व्यवस्थापन स्वयं आफैले गर्नुपर्ने बताए। पालिकामा जथाभावी फोहोर फालेको पाइएमा कानून बमोजिम न्यूनतम ५ हजारदेखि फोहोरको प्रकृतिअनुसार जरिवाना कारवाही गरिने नगरपालिकाले जनाएको छ ।
वर्गीकरण नभएको फोहोर संकलन नहुने हुँदा नगरबासी, होटल/पसल व्यवसायीहरु, विद्यालय र विभिन्न संघ–संस्थाहरुले फोहोर वर्गीकरण गर्ने कार्यमा सहयोग गर्नका लागि सिद्धार्थनगर नगरपालिकाले आग्रह गरेको छ।

