


काठमाडौं,१५ चैत। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अदालतमा भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट उपस्थित गराउने तयारी गरिएको छ।
स्वास्थ्य अवस्था कमजोर भएका कारण उनलाई शारीरिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएपछि भिडियो कन्फ्रेन्सिङमार्फत उपस्थित गराउने तयारी गरिएको हो ।

शनिबार बिहान गुन्डुबाट पक्राउ परेका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। शनिबार साँझ र आइतबार बिहान गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरुले उनलाई अस्पतालमै राख्न सुझाव दिएका थिए।
उक्त सुझावका आधारमा सरकारी वकिल कार्यालयले उनलाई भिडियो कन्फ्रेन्सिङमार्फत अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाइएको हो।
यस्तै शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ।
ओली र लेखक दुवै जनालाई भदौ २३ गते भएको जेनजी आन्दोलनको घटना सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ गरिएको छ।

