
भैरहवा,१७ चैत। मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याईने भएको छ ।
कुवेत एयरवेजको वाइडबडी विमान (बोइङ ७७७–३००) को चार्टर उडानमार्फत मार्फत बुधवार त्यहाँबाट नेपाली नागरिकहरुलाई स्वदेश ल्याइने भएको हो । जसका लागि उक्त चार्टर उडानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमित प्रदान गरिसकेको छ ।
Advertisement

Advertisement
Advertisement

कुवेतबाट अलपत्र नेपाली यात्रुहरुलाई लिएर बुधवार उक्त विमान दिउँसो ४:४५ बजे भैरहवामा अवतरण गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । उक्त उडानमार्फत करिब तीन सय यात्रु आउन सक्ने सम्भावना रहेको उनले बताए ।
कुवेतस्थित नेपाली दूतावासको समन्वयमा स्वदेश फर्किन चाहेको नेपालीहरुलाई चार्टर उडानमार्फत स्वदेश पठाउन लागिएको बताइएको छ । मध्यपूर्वमा द्वन्द्वका कारण नेपाल–कुवेतबीच नियमित उडान प्रभावित भएको छ ।
नेपाली यात्रुहरुलाई भैरहवा लिएर आउने उक्त विमान यहाँबाट ६:१५ बजे पाकिस्तानको लाहोरका लागि प्रस्थान गर्ने र त्यहाँबाट कार्गो लिएर पुनः कुवेत फर्किने तालिक रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

