


कपिलवस्तु,१७ चैत। कपिलवस्तु प्रहरीले ग्राहकको खाताबाट रकम चोरेको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको तौलिहवा शाखाका एक जना कर्मचारीलाई पक्राउ गरेको छ । यस अघि प्रहरीले ग्राहकको खाताबाट रकम चोरेकै आरोपमा यही बैंकको गाईघाट शाखामा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका-५ की सुनिता बानियाँलाई पक्राउ गरेको थियो ।
तौलिहवा शाखामा कार्यरत पक्राउ परेका कर्मचारी ऋषभ कार्कीले बैंकिङ प्रणालीभित्र प्रवेश गरेर ग्राहकका मोबाइल नम्बर परिवर्तन गरी आफूले प्रयोग गर्ने नम्बर राखेर मोबाइल बैंकिङ ट्रान्जेक्सनको सूचना आफैंलाई आउने व्यवस्था मिलाएको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार, यही प्रक्रिया अपनाएर उनले १६ जना ग्राहकको १ करोड ६५ लाख रुपैयाँ मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसमार्फत आफ्नै खातामा ट्रान्सफर गरेका थिए।
एउटै मोबाइल नम्बर १६ वटा बैंक खातामा पाइएपछि बैंकको केन्द्रीय कार्यालयले प्रहरीलाई जानकारी गराएको थियो । पक्राउ परेका कर्मचारीले घटनामा संग्लनता स्विकार गरेको डीएसपी सिंहले बताए । घटनापश्चात बैंकको केन्द्रीय कार्यालयले दुई जना कर्मचारीलाई निलम्बन र शाखा प्रमुखसँग स्पष्टीकरण सोधेको बताइएको छ ।

