


भैरहवा,२३ चैत। रुपन्देही क्षेत्र नम्बर ४ (मर्चवारसमेत) को समग्र विकासलाई तीव्रता दिने उद्देश्यसहित प्रधानमन्त्री बालेन शाह समक्ष विभिन्न योजना र एजेन्डामा छलफल गर्दै चालु वर्षदेखि नै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ। यससँगै मर्चवार क्षेत्र अब विकासको हिसाबले पछि नपर्ने विश्वास व्यक्त गरिएको छ।
प्रधानमन्त्री शाहले सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुसँग छलफल गरेका थिए। छलफलमा सहभागी प्रतिनिधिसभा सदस्य कन्हैया बनियाले क्षेत्रको विकासका लागि विभिन्न योजना र एजेन्डाहरु प्रस्तुत गरेका थिए ।

उनका अनुसार, छलफलका क्रममा मर्चवारका लागि खरिद गरेर थन्किएको दमकल संचालनका लागि फुकुवा गर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने तथा मर्चवारी माई मन्दिरलाई राष्ट्रिय सम्पदा सूचीमा समावेश गर्ने विषयमा निर्णय गरिएको छ।
त्यसैगरी ककरहवा–कालिदह सीमा नाकाबाट आयात–निर्यात तथा पर्यटन केन्द्रका रुपमा विकास गर्ने, मर्चवार लिफ्ट सिँचाइ आयोजनालाई प्रविधिमैत्री रुपमा मर्मत तथा निर्माण गर्ने र मर्चवार–लुम्बिनी सडक सञ्जाल विस्तार गर्ने योजना अघि बढाइने भएको छ।
मर्चवारमा लघु उद्यम विकास परिसर स्थापना गर्ने, छपियालाई एकीकृत मत्स्य पालन प्रणालीमार्फत ‘फिस फार्मिङ हब’का रुपमा विकास गर्ने तथा सर्पदंश उपचार सेवा सहित २५ शय्याको प्रविधिमैत्री अस्पताल निर्माण गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।
यस्तै, युवा तथा खेलकुद प्रवर्द्धनका लागि क्रिकेट एकेडेमीसहित रङ्गशाला निर्माण गर्ने, परम्परागत कृषि प्रणालीलाई विस्थापन गर्दै एकीकृत कृषि प्रणाली लागू गर्ने तथा मर्चवार क्षेत्रमा चार लेनको रिङ रोड निर्माण गर्ने जिम्मा संघीय सरकारले लिएको उनको भनाई छ।
अन्य थप योजनाहरुका लागि सम्बन्धित मन्त्रालयसँग निरन्तर समन्वय र पहल जारी रहने सांसद कन्हैया बनियाले बताए ।

